अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ। चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराउँदै सिरिजमा विजयको खाता खोलेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनायो। नेपालका लागि आरिफ शेखले सर्वाधिक ३३ रन योगदान गरे। आसिफ शेखले २९, कुशल भुर्तेलले २७ रन बनाए भने लोकेश बम ११ बलमा २५ रनमा अविजित रहे। नेपालले अतिरिक्त ३२ रन पनि प्राप्त गरेको थियो।
जवाफी ब्याटिङमा उत्रिएको होबार्ट १६.१ ओभरमै ११४ रनमा समेटियो। नेपालको बलिङमा नन्दन यादव चम्किए। उनले ३ ओभरमा १७ रन खर्चेर ५ विकेट लिए। कप्तान रोहित पौडेल, कुशल भुर्तेल, रिजन ढकाल र सन्दीप लामिछानेले १–१ विकेट हात पारे।
होबार्टका लागि ब्राड होपले ३१ रन, चार्ली वाकिमले २८ रन बनाए भने जेन कर्टेन २० रनमा नटआउट रहे। बलिङतर्फ निभेथन राधाकृष्णनले ४ ओभरमा २० रन दिँदै २ विकेट लिए। त्यस्तै, राफ म्याकमिलनले २ विकेट लिए भने मार्कस बिन, गाब्रियल बेल र ब्राड होपले १–१ विकेट झारे।
यसअघिका तीनै खेलमा पराजित भएको नेपालले सिरिजको चौथो खेलमा पहिलो जित निकालेको हो। नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग, दोस्रो खेलमा बंगलादेश एसँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो।
नेपालले अब भोलि मेलबर्न रेनेगेड्स र शुक्रबार पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ।