डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल चैत १५ गते काठमाडौंको तीनकुने घटनाबारे पहिलोपटक बोलेका छन्।
सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले करिब १० वर्षपछि आफूले सोही दिन गाडी चलाएको र आफूलाई मार्ने योजना भएको थाहा पाएपछि प्रहरीकै अगाडि पुगेको बताए।
‘म गाडी लिएर प्रहरीकोमा गएँ। मार्ने योजना भए पनि एक-दुई जनालाई भनेको हुन्छ भन्ने लागेर मैले पुलिसकै गुँडभित्र छिर्नुपर्छ भनेर छिरेँ,’ उनले भने। उनले थपे, ‘त्यसपछि एकजना डीएसपी साबले आएर, तपाईंले जे गर्नुभयो ठिक गर्नुभयो, अब तपाईं गएर कार्यक्रम सकेर निस्कनुस् भन्नुभयो।’
प्रसाईंले मञ्चमा पुगेर प्रहरी र आफ्ना समर्थकलाई संयमित हुन पनि आग्रह गरेको बताए। ‘मैले मञ्चमा गएर प्रहरीसँग धक्कामुक्का नगर्नुस्, प्रहरीले पनि अश्रुग्यास नहान्नुस् भनेँ,’ उनले भने।
त्यतिबेलै एक जना सिभिलका प्रहरीले आफूलाई मार्ने योजना रहेको जानकारी गराएको र त्यसपछि उपत्यका छाडेको प्रसाईंले बताए। ‘मलाई त्यतिबेलै प्रहरीका एक जना सिभिलका मान्छे आएर तपाईंलाई मार्ने योजना छ भनेपछि म त्यहाँबाट निस्किएँ। म कर्फ्यु लाग्दा काठमाडौं उपत्यका छाडिसकेको थिएँ,’ उनले भने।
प्रसाईंले यस घटनामा आफूलाई इन्काउन्टर गर्ने आदेश आएको र मदन भण्डारीको हत्या त्यही कारण भएको बताए। ‘किनभने यो देशमा मदन भण्डारी बाँचेको थियो भने अरुको चान्स आउँदैन थियो। त्यही भएर मदन भण्डारीलाई मारियो,’ उनले बताए।