वीरगन्जका पत्रकार क्रान्ति शाहलाई फोटो पत्रकार स्व. सुबोध सिंहको सम्झनामा प्रतीक प्रकाशन समूहले स्थापना गरेको ५१ हजार रुपैयाँ राशिको स्व. सुबोध स्मृति पत्रकारीता पुरस्कार प्रदान गरिएको छ।
आइतबार आयोजित प्रतीक दैनिकको ३९औँ वार्षिकोत्सव समारोहमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पत्रकार शाहलाई प्रमाणपत्रसहित उक्त पुरस्कार प्रदान गरे।
प्रतीक प्रकाशन समूहले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष एक जना सक्रिय पत्रकारलाई यस प्रकारको पुरस्कार प्रदान गर्दै आएको छ। यस वर्षको पुरस्कारको निर्णय गत साउन १७ गते सम्पन्न समूहको बैठकले गरेको थियो।
त्यसैगरी, कार्यक्रममा प्रतिनिधि पत्रकारहरूलाई पनि सम्मान गरिएको थियो। प्रतीक दैनिकको उत्कृष्ट संवाददाताका रूपमा प्रमोद यादवलाई १५ हजार रुपैयाँसहित, उत्कृष्ट स्तम्भकार ओमप्रकाश खनाललाई १० हजार रुपैयाँ, युवा पत्रकार सूर्यनारायण विकलाई स्व. चीरञ्जीवी कोइराला स्मृति पत्रकारिता पुरस्कार अन्तर्गत १५ हजार रुपैयाँ, तथा कर्मचारी श्यामजी प्रसाद गुप्तालाई ५ हजार रुपैयाँ प्रदान गरियो। स्तम्भकार अनन्तलाल दासलाई दोशल्ला ओढाएर सम्मान गरिएको थियो।
कार्यक्रमको अध्यक्षता प्रतीक प्रकाशन समूहकी अध्यक्ष विन्दु शर्माले गरेकी थिइन् भने मेयर राजेशमान सिंह प्रमुख अतिथि थिए। कार्यक्रममा प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश शर्मा, स्व. सुबोध सिंहका दाजु सुदर्शन सिंह, मधेस विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्य, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतम, पर्सा बार एसोसिएसनका अध्यक्ष रामनारायण कुर्मी, राजेन्द्र कोइराला, श्याम पोख्रेल लगायत अन्य प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति थियो।