जनकपुरधाममा पत्रकारहरूमाथि साउन २७ गते भएको आक्रमणको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ। आयोगको मधेश प्रदेश कार्यालयका टोलीले घटनाका पीडित र सरोकारवालासँग विस्तृत जानकारी लिएको छ।
घटना स्वर्गद्वारी नजिकको गुठीको जग्गासम्बन्धी पत्रकार सम्मेलनपछि केही अधिवक्ताहरूको समूहले पत्रकारमाथि आक्रमण गर्दा भएको थियो। यस आक्रमणमा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र महतो क्रान्तिको खुट्टा भाँचिएको छ भने पत्रकार अनिल कुमार निरालाको आँखा र दिवाकर रायको टाउकोमा गम्भीर चोट लागेको थियो।
महिला पत्रकार ज्योति झा (उपाध्यक्ष, मधेश प्रदेश) र विनीता यादवमाथि पनि आपत्तिजनक दुर्व्यवहार भएको र लैङ्गिक संवेदनशीलता बेवास्ता गर्दै हातपात गरिएको जानकारी आयोगलाई दिइएको छ।
मानव अधिकार आयोग, मधेश प्रदेशका मानव अधिकार अधिकृत किरण घिमिरे र राहुल कुमार ठाकुर तथा सूचना प्रविधि शाखाका कर्मचारी ऋषिकुमार झासहितको टोलीले नेपाल पत्रकार महासंघका पदाधिकारीहरूसँग घटनाबारे विस्तृत जानकारी लिएका छन्। महासंघका पदाधिकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आयोगसँग अनुरोध गरेका छन्। आयोगले अनुसन्धानपछि तत्काल प्रतिवेदन पेश गर्ने प्रतिबद्धता जनाएको छ।
यसैबीच, मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादवसहितको टोली र आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गा तथा इन्सेक मधेश प्रदेशका प्रमुख राजु पासवानको टोली पनि घाइते पत्रकारहरूसँग भेटघाट गरी जानकारी संकलनमा सक्रिय रहेको थियो।
घटनाबारे जानकारी दिने क्रममा महासंघका केन्द्रीय सदस्य राजेश कुमार कर्ण, मधेश प्रदेश अध्यक्ष श्याम प्रसाद बन्जारा, सचिव हदिस खुददार र धनुषा शाखाका अध्यक्ष पुरण गुप्ता लगायतका पत्रकारहरूको सहभागिता रहेको थियो।