दुई महिनादेखि नेतृत्वविहीन बनेको प्रेस काउन्सिल नेपालमा इतिहासमै पहिलो पटक महिला अध्यक्ष नियुक्त हुने पक्का भइसकेको छ।
सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको लामो भागबण्डा विवाद अन्ततः सहमतिमा पुग्दै कांग्रेससम्बद्ध प्रेस युनियनकी नेतृ बाला अधिकारीलाई अध्यक्ष बनाउन मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी भइरहेको उच्च स्रोतले जनाएको छ।
गत जेठमा अध्यक्ष बालकृष्ण बस्नेतको चार वर्षे कार्यकाल सकिएपछि रिक्त रहेको काउन्सिलको नेतृत्वमा अधिकारी बन्ने सम्भावना प्रबल भएको हो। एमाले निकटका बालकृष्ण बस्नेत, गोपाल खनाल, अखण्ड भण्डारी, तीर्थ कोइराला र रघु मैनाली समेत अध्यक्ष पदका लागि लबिङमा थिए।
तर भागबण्डामा काउन्सिल कांग्रेसको हिस्सामा परेकोले बाला अधिकारी अध्यक्ष बन्ने निश्चित भएको छ। कांग्रेसबाट अध्यक्ष पदका लागि धेरैले प्रयास गरे पनि पत्रकार महासंघको गएको महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन प्रमुख भूमिका निर्वाह गरेको कारण अधिकारीले अध्यक्ष पद पाएकी हुन्।
पत्रकार महासंघको महाधिवेशनपछि अध्यक्ष र वरिष्ठ उपाध्यक्षले राजीनामा दिएपछि अधिकारीले महाधिवेशन सम्पन्न गरी महासंघलाई मार्गदर्शन गरेकी थिइन्।
अधिकारीको नेतृत्वमा सम्पन्न महाधिवेशनमा कांग्रेस निकट प्रेस युनियनको समर्थनमा एमाले निकट प्रेस चौतारीकी निर्मला शर्मालाई अध्यक्ष बनाइएको थियो।
यसपछि प्रेस युनियन अध्यक्ष शिव लम्साल लगायतका नेताहरूले महासंघ चौतारीको हिस्सामा परेको भन्दै काउन्सिलमा प्रेस युनियनको हिस्सा सुनिश्चित गर्न पार्टी नेतृत्वमा निरन्तर दबाव दिँदै आएका थिए।