नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुन सुझाव दिएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले रास्वपाका सांसदहरूलाई नयाँ दलका हैसियतले अझै अनुभवको अभाव रहेको भन्दै व्यवहारमा संयमता अपनाउन आग्रह गरे।
“नयाँ दल, अनुभवले खारिन बाँकी छ, त्यसकारण तपाईंहरू तीनवटा ‘अ’ बाट मुक्त हुनुस् — अतार्किक अडानबाट, आवेगबाट र अराजक शैलीबाट,” शर्माले भने।
भिजिट भिसा प्रकरणमा संसद्मा चर्किएको बहसतर्फ संकेत गर्दै उनले यस्तो संवेदनशील विषयमा आवेगमा नआई तर्क र तथ्यका आधारमा अघि बढ्न आग्रह गरे।
शर्माले भिजिट भिसाको नाममा विदेश जानेहरूको संख्या सबैभन्दा धेरै तत्कालीन गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको कार्यकालमा भएको दाबी गरे।
“तपाईंहरूकै सभापति रविजी गृहमन्त्री भएको समयमा भिजिट भिसामा बाहिर धेरै मानिसहरू गएका छन्। तपाईंहरूले संसद् बहिष्कार गर्दै गर्दा रविजीकै पालामा सबैभन्दा बढी मानव तस्करी भएको भन्ने तपाईंहरूको निष्कर्ष हो? म सोध्न चाहन्छु,” शर्माले प्रश्न गरे।
शर्माले मानव तस्करीको विषयमा संसद्मा प्रश्न उठाउने रास्वपाका सांसदहरूलाई आफूहरूले उपसभामुखको पदमा पठाएका इन्दिरा रानामगरको नैतिकतामाथि पनि उस्तै मापदण्डमा प्रश्न उठाउनुपर्ने तर्क गरे।
“गृहमन्त्रीको नैतिकता भन्ने कुरा उठाउनुहुन्छ भने उपसभामुखको नैतिकता किन उठाउनु पर्दैन?” उनले जिज्ञासा राखे।
शर्माले संसदीय मर्यादा र जिम्मेवारीको महत्त्वलाई स्मरण गराउँदै संसदलाई सहयोग गर्ने जिम्मेवारी सबै दलको रहेको धारणा राखे।