प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विगत दुई आम निर्वाचनमा सर्वाधिक मत ल्याएर स्वच्छ तरिकाले विजयी भएको दाबी गरेका छन्।
आइतबार काठमाडौँमा सूर्यप्रसाद श्रेष्ठद्वारा लेखिएको नेपालमा निर्वाचनको इतिहास नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै धन वा बल प्रयोग नगरी जनताको भरोसामा चुनाव जितेको बताएका हुन्।
उनले भने, “विगत दुई वटा चुनावमा सर्वाधिक मत ल्याएर जितेको सांसद म हुँ। कुनै प्रकारको अनफेयर चिज नगरी, बुथ कब्जा नगरी, धम्की नदिई, अनुचित क्रियाकलाप नगरी एकदम स्वच्छताका साथ जनताले मत दिएर मलाई जिताएका हुन्।”
ओलीले आफूले जितेको निर्वाचनको हरेक प्रक्रिया पारदर्शी रहेको दाबी गर्दै थपे, “सञ्चार माध्यममा सब कुरा लाइभ गइरहेको छ। न बल प्रयोग, न धन प्रयोग, धन र बल प्रयोगबिना जितेको हुँ। यदि मैले कतै बुथ कब्जा गरेको, नियम उल्लङ्घन गरेको प्रमाणित गर्न सकिन्छ भने जो कोहीले औँलो ठड्याउन सक्दछ। रिस उठेर गाली गर्नु बेग्लै कुरा हो।”
प्रधानमन्त्री ओलीले २०४८ सालको संसदीय निर्वाचनमा समेत पैसा खर्च नगरी विजयी भएको स्मरण गरे। उनका अनुसार, त्यसबेला पार्टीले झापा निर्वाचन क्षेत्रमा जान जम्मा दुई सय रुपैयाँ दिएको थियो, जसमा पनि उनले २० रुपैयाँ बचत गरेको दाबी गरे।
कार्यक्रममा उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन सबै दल तथा जनताको भूमिका महत्त्वपूर्ण रहेको पनि उल्लेख गरे।