काठमाडौंको घट्टेकुलोमा अवस्थित काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल लामो समयपछि पुनः सञ्चालनमा आएको छ। शुक्रबारदेखि अस्पतालले औपचारिक रूपमा आफ्नो सेवा पुनः सुरु गरेको हो।
कलेजका अध्यक्ष बसरुद्दिन अन्सारीका अनुसार, अस्पताल पुनः सञ्चालनको उद्देश्य मेडिकल शिक्षालाई पुनः सक्रिय बनाउनुका साथै सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको छ।
अस्पतालले प्रारम्भिक चरणमा सर्वसाधारणलाई लक्षित गर्दै निःशुल्क ओपिडी सेवा सुरु गरेको छ, जुन अर्को सूचना जारी नभएसम्म जारी रहने जनाइएको छ।
यसका अतिरिक्त अस्पतालले विभिन्न विशेषज्ञ सेवाहरूमा विशेष छुटको व्यवस्था पनि गरेको छ। छुट पाउने सेवाहरूमा जेनरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति, हाडजोर्नी, बाल रोग, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, नाक–कान–घाँटी, आँखा, नसा, मुटु, किड्नी, मूत्र र छाती रोगसम्बन्धी सम्पूर्ण सेवा समावेश छन्।
अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा समेत सञ्चालनमा ल्याएको छ। यस अन्तर्गत एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउन्ड, एक्स–रे र फिजियोथेरापी सेवामा समेत छुट दिइनेछ। बिरामीको सुविधाका लागि अस्पताल परिसरमै फार्मेसी सेवा समेत उपलब्ध गराइएको छ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जहगिर अन्सारीले काठमाडौंको केन्द्रमा रहेको यो अस्पतालले नागरिकहरूलाई गुणस्तरीय, सुलभ र सरल स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखेको बताए। उनले अस्पताल पुनः सञ्चालनको अवसरमा निःशुल्क सेवा उपलब्ध गराउने निर्णय पनि गरिएको जानकारी दिए।
अस्पतालका व्यवस्थापक दिलीप साहले कलेज पुनः सञ्चालनबाट नागरिकको विश्वास जित्न, गुणस्तरीय सेवा दिन र स्वास्थ्य तथा स्वास्थ्य शिक्षा दुवै क्षेत्रमा आफ्नो उत्तरदायित्व पूरा गर्न अस्पताल प्रतिबद्ध रहेको बताए।