प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा भएको गहिरो र विषयकेन्द्रित बहसको प्रशंसा गरेका छन्। बुधबार राष्ट्रियसभामा ‘नेपालको अति कम विकसित राष्ट्र (LDC) बाट विकासशील राष्ट्रमा स्तरोन्नति’ सम्बन्धी अध्ययन प्रतिवेदनमाथि भएको छलफललाई सकारात्मक बताउँदै प्रधानमन्त्री ओलीले सदस्यहरूलाई धन्यवाद दिएका हुन्।
उक्त छलफल विकास, आर्थिक मामिला तथा सुशासन समितिबाट अध्ययन गरिसकेको विषयमा केन्द्रित थियो। प्रधानमन्त्री ओलीले सभामा सदस्यहरूले राखेका विचारहरू ध्यानपूर्वक सुनेपछि रोष्ट्रममा उठ्दै राष्ट्रियसभाको गरिमा अनुरूपको बहस भएको प्रतिक्रिया दिएका हुन्।
प्रधानमन्त्री ओलीले भने, “आजको छलफल हेर्दा राष्ट्रियसभाको गरिमा धान्ने गरी नै बहस भएको देखिन्छ। सुरुमै सभाध्यक्षले जे अपेक्षा गर्नुभएको थियो, त्यसैअनुसार नै छलफल अघि बढेको छ।”
सभाध्यक्ष नारायण दाहालले प्रत्येक सांसदलाई प्रतिवेदनमाथि बोल्न ३ मिनेटको समय दिएका थिए। साथसाथै, उनले सुरुमै विषयमा केन्द्रित रहेर मन्तव्य दिन आग्रह गरेका थिए।
प्रधानमन्त्री ओलीले समयसीमाभित्रै अर्थपूर्ण प्रस्तुति दिन सफल भएको भन्दै राष्ट्रियसभा सदस्यहरूको तयारी र प्रस्तुतिको खुलेर प्रशंसा गरे। उनले भने, “३ मिनेटको अवधिमा पनि केही नछुट्ने गरी सबैले प्रस्तुत हुनुभएको छ। सबै सदस्य वेल प्रिपेयर्ड देखिनुभयो। बहसको यो शैली, गहिराइ र तरिकाका लागि धन्यवाद भन्न चाहन्छु।”
यस किसिमको सुसंस्कृत र प्रभावकारी छलफलले संसद्को गरिमा बढाउने प्रधानमन्त्री ओलीको धारणा रहेको छ।