सुख्खा संकटग्रस्त मधेश प्रदेशमा सिँचाइका लागि सञ्चालनमा आउन लागेका डिप बोरिङहरूमा छिटोभन्दा छिटो विद्युत् सेवा पुर्याउन नेपाल विद्युत् प्राधिकरणले मातहतका कार्यालयहरूलाई निर्देशन दिएको छ।
मंगलबार जनकपुरधामस्थित प्रादेशिक वितरण केन्द्रमा मधेश प्रदेशभरिका वितरण प्रमुखहरूसँगको छलफलमा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले डिप बोरिङ जडान हुने स्थानहरूमा ५ देखि १० दिनभित्र तार, पोल, मिटरसहितको विद्युत् सुविधा विस्तार गर्न निर्देशन दिएका हुन्।
शाक्यले विद्युत् प्राधिकरण सेवा र व्यापार दुवै उद्देश्य बोकेको संस्था भएको उल्लेख गर्दै, सेवा सुविधा विस्तार गर्दा समयमै काम सम्पन्न गर्नुपर्नेमा जोड दिए। "हामी सरकारको अनुदानमा चल्ने संस्था होइनौं," उनले भने, "विधुत बिक्रिबाटै संस्था सञ्चालन हुन्छ, घाटा बढ्दै गयो भने टिक्न गाह्रो हुन्छ।"
थ्री-फेज लाइन आवश्यक पर्ने सिँचाइका उपकरणहरूलाई ध्यानमा राख्दै शाक्यले सम्बन्धित निकाय र स्थानीय तहसँग समन्वय गरेर प्रक्रियालाई छोट्याउँदै तत्काल सेवा दिन आग्रह गरेका छन्।
उनले सिँचाइ र खानेपानीको प्रयोजनका लागि विद्युत् सहुलियत दरमा उपलब्ध गराइने स्पष्ट पारे पनि निःशुल्क सेवा वितरण सम्भव नरहेको बताए। “सेवा भनेर निशुल्क विधुत बाँड्न सकिँदैन, संस्थाको दीर्घकालीन दिगोपनाका लागि लागतसमेत महत्त्वपूर्ण छ,” उनले भने।
शाक्यको निर्देशनले मधेश प्रदेशमा जलस्रोतको अभावसँग जुझिरहेका किसानहरूलाई सिँचाइमा सहजता आउने अपेक्षा गरिएको छ। साथै, यसले विद्युत् सेवा विस्तारमा देखिएको ढिलासुस्ती न्यूनीकरण गर्न पनि सहयोग पुर्याउने विश्वास लिइएको छ।