मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरद्वारा आयोजित कार्यसम्पादन सम्झौता मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय, पर्सा प्रदेशकै सर्वोत्कृष्ट बन्न सफल भएको छ।
प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको नेतृत्वमा रहेको पर्सा प्रहरीले ४० वटा कार्यसूचक बुँदामा आधारित मूल्यांकनमा ९०.१९ प्रतिशत अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको हो।
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमा प्रसाद चतुर्वेदीका अनुसार, पर्सा प्रहरीको यो सफलता शान्ति सुरक्षाको सुदृढीकरण, अपराध नियन्त्रण, तस्करविरुद्धको कारबाही, फरार प्रतिवादीको गिरफ्तारी, लागुऔषध नियन्त्रण जस्ता क्षेत्रमा देखिएको उल्लेखनीय कार्यको परिणाम हो।
तस्करी नियन्त्रणमा ठूला सफलता
पर्सा प्रहरीले मुल्यांकन अवधिमा करिब ६० करोड रुपैयाँ बराबरको चोरी, तस्करी र भन्सार छलीका सामान नियन्त्रणमा लिई राजस्व तथा भन्सार कार्यालयमा बुझाएको छ।
फरार प्रतिवादीको व्यापक गिरफ्तारी
विभिन्न अदालतबाट फैसला भई फरार रहेका १,५११ जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाइएको छ। जसबाट ७३ वर्ष २ महिना कैद तथा ३ करोड ५५ लाख १२ हजार ९५६ रुपैयाँ जरिवाना असुल गरिएको छ।
लागुऔषध नियन्त्रणमा कीर्तिमानी उपलब्धि
लागुऔषध कारोबारमा संलग्न १५३ जना अभियुक्त पक्राउ परेका छन्। ती अभियुक्तहरूबाट ६२४ केजी चरेस, १,५६१ केजी गाँजा, १ केजी ५९० ग्राम अफिम बरामद गरिएको छ।
एक मात्र घटनामा ३१९ केजी चरेससहित ट्रकसहित अभियुक्त पक्राउ गरिनु उल्लेखनीय मानिएको छ।
मानव बेचबिखन र गम्भीर अपराधमा कारबाही
मानव बेचबिखन विरुद्ध १२ वटा मुद्दा दर्ता गर्दै १३ जना अभियुक्त कारबाहीमा परेका छन् । कर्तव्य ज्यान जस्ता गम्भीर प्रकृतिका घटनामा संलग्न अपराधीको गिरफ्तारी र सफल अनुसन्धानमा पनि पर्सा प्रहरीले अब्बल प्रदर्शन गरेको छ।
नेतृत्व क्षमता र भौतिक सुधार
एसपी गौतम मिश्रले प्रहरी कार्यालयको भौतिक संरचना व्यवस्थित, सुन्दर र सेवा–मैत्री बनाउनेतर्फ सक्रियता देखाएका छन्। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्न उनले हनुमान जयन्ती, गहवामाई रथ यात्रा, मोहरम लगायतका पर्वहरूमा सुरक्षा रणनीति सहित सफल व्यवस्थापन गरेका छन्।
पहिलोपटक पर्सा जिल्ला प्रथम
२०७७ सालदेखि सुरु गरिएको कार्यसम्पादन सम्झौता मूल्यांकनमा पर्सा जिल्ला पहिलोपटक प्रदेशस्तरमा प्रथम बन्न सफल भएको हो।
यस सफलताले एसपी मिश्रको नेतृत्वमा पर्सा प्रहरीले सक्षम कमान्ड र प्रतिबद्ध कार्यशैली प्रस्तुत गरेको पुष्टि गरेको छ।