नेपाली चलचित्र ‘रियाल रिङ्गेट’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। श्रावण सङ्क्रान्तिको अवसरमा सार्वजनिक गरिएको यस ट्रेलरले वैदेशिक रोजगारीका क्रममा नेपाली युवाले भोग्नुपरेका विविध चुनौती र संघर्षलाई देखाएको छ।
ट्रेलरका केही दृश्यहरू निकै मन छुने किसिमका छन्। यसमा आतंकवादीहरूको बन्दी बनाइएका नेपाली कामदारहरूको पीडा झल्किन्छ भने अभिनेता प्रमोद चौलागाईंले कब्जामा रहेको बेला नेपालमा पठाएको भिडियो सन्देश पनि देखाइएको छ, जुन टेलिभिजनमार्फत प्रसारण भइरहेका छन्।
सिनेमाका निर्देशक विभोर पोखरेलले ‘रियाल रिङ्गेट’लाई हरेक नेपालीको कथा भएको उल्लेख गर्दै भने, “यो चलचित्रले वैदेशिक रोजगारीमा गएका नेपाली युवायुवतीहरूले भोग्नुपर्ने यथार्थ र जीवनशैलीलाई नजिकबाट प्रस्तुत गर्नेछ।”
सिनेमाको शीर्षक ‘रियाल रिङ्गेट’ प्रतीकात्मक छ; ‘रियाल’ कतार र साउदी अरेबियाको मुद्रा हो भने ‘रिङ्गेट’ मलेसियाको मुद्रा हो। यी दुवै नामहरूले नेपाली श्रमिकहरूको मुख्य रोजगारी गन्तव्य मुलुकहरूलाई जनाउँछन्, जहाँ लाखौँ नेपालीले आफ्नो परिवारको भरणपोषणका लागि काम गरिरहेका छन्।
सिनेमामा प्रमोद चौलागाईं र निता ढुङ्गानासहित छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारले अभिनय गरेका छन्। यसको पटकथा प्रदीप भारद्वाजले लेखेका हुन् भने रोशन श्रेष्ठले द्वन्द्व निर्देशन गरेका छन्। हरि घलेले छायाँकन, विपिन मल्लले सम्पादन, किरण तुलाधरले ब्याकग्राउन्ड स्कोर र राजीव समरले कोरियोग्राफी तयार पारेका छन्।
सिनेमाका गीतहरूमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीले सङ्गीत भरेका छन् भने सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनू रिजाल काफ्लेले स्वर दिएका छन्। गीतका शब्दहरू अमर न्यौपाने, रवि मल्ल, कोसिस क्षेत्री, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका हुन्।
‘रियाल रिङ्गेट’को छायाँकन भारतको राजस्थान र नेपालको चितवन, काठमाडौं तथा लेटाङमा गरिएको छ। यो चलचित्र काफिया फिल्म्सले वितरण गर्नेछ।
चलचित्र प्रदर्शन यही साउन १६ गतेबाट हुने तयारीमा छ।