नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर वीरगञ्जमा भव्य समारोहका बीच सार्वजनिक गरिएको छ। चलचित्र पत्रकार संघ नेपाल, पर्साको आयोजनामा घण्टाघरस्थित होटल क्लासिक बैंक्वेटमा कार्यक्रम सम्पन्न भएको हो।
पोस्टर सार्वजनिक कार्यक्रम संघका अध्यक्ष सूर्यनारायण वि.क., वरिष्ठ कलाकार नन्दु श्रीवास्तव र चलचित्रका निर्माता हरी पन्तले संयुक्त रूपमा अनावरण गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ कलाकार श्रीवास्तवले चलचित्रले समाजको यथार्थ झल्काउने विश्वास व्यक्त गरे। नेपाली, हिन्दी र भोजपुरी चलचित्रमा लामो समयदेखि सक्रिय रहँदै आएका उनले पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा प्रविधिको प्रयोगसँगै गुणात्मक सुधार आएको धारणा राखे।

चलचित्रका निर्माता हरी पन्तले ‘जनै हराएको मान्छे’ समाजको कथालाई बोल्ने चलचित्र भएको उल्लेख गर्दै यसको व्यावसायिक सफलताको शुभकामना व्यक्त गरे। विगतमा प्रचारप्रसारका क्रममा भोगेका कठिनाइ सम्झिँदै अहिले चलचित्र पत्रकार संघको सहयोगले प्रक्रिया सहज भएको बताए। चलचित्रको शीर्षकले नै दर्शकमाझ उत्सुकता बढाएको उनले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टी, पर्साका सभापति समेत रहेका पन्तले नेपाली चलचित्र मधेशमा नचल्ने भन्ने धारणा अब गलत सावित हुँदै गएको बताए। “पूर्ण बहादुरकाे सारङ्गी चलचित्रले मधेशमा नेपाली फिल्म नचली नहुने उदाहरण दिएको छ,” उनले भने।
नेकपा माओवादी केन्द्रका युवा नेता शिव कुमार साहले मधेशमा नेपाली चलचित्रप्रतिको चासो र दर्शकको रुचि बढ्दै गएको बताए। उनले भोजपुरी र हिन्दी चलचित्रहरूको प्रभाव रहेको क्षेत्रमा नेपाली चलचित्रको चर्चा हुनु सुखद संकेत भएको टिप्पणी गरे।
चलचित्र पत्रकार संघ नेपाल, पर्साका अध्यक्ष सूर्यनारायण वि.क.ले ‘जनै हराएको मान्छे’ आउँदो भदौ ६ गतेदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने जानकारी दिए।
चलचित्रका निर्देशक हिमाल न्यौपाने हुन् भने निर्माता कमल न्यौपाने र बिमल न्यौपाने हुन्। प्रमुख भूमिकामा विजय बराल, केकी अधिकारी, मिरूना मगर, गौरव पहाडी लगायतका कलाकारको अभिनय रहेको छ। देशभर एकसाथ पोस्टर सार्वजनिक गरिएको हो।