ठोस प्याकेज विना पर्यटन प्रवद्र्धन गर्छु भनेर मात्र हुन्न । पर्यटन प्रवद्र्धन गर्न सर्वप्रथम आफूसँग भएका वा बनाइएका कुराको ब्राण्डिङ गर्नु पर्छ । ‘प्याकेज टुर’हरु बनाउनु पर्छ । अनि त्यसको प्रचार–प्रसार गर्नु पर्छ । वर्तमानको आवश्यकता पनि यहि हो । आफूसँग भएका ऐतिहासिक ठाउँ, कल्चर, भेष–भूषा, खानपानलगायतलाई ब्राण्डिङ गरिएकै छैन । अनि प्रदेश भित्र हेर्न, घुम्न, बस्न र खान लायक ठाउँहरुको प्याकेज बनाई ब्राण्डिङ गर्न पनि यो प्रदेश चुकेको छ । केवल बोल्न चाही छोडिएको थिएन र छैन कि पर्यटक आएनन् भनेर । पर्यटक आउनका लागि वातावरण बनाउनु पर्छ भन्ने कुरा चाही बढि ख्याल गर्नु पर्छ । यता धेरैको ध्यान पुगेको थिएन ।
मधेशमा आन्तरिक र वाह्य पर्यटक लोभ्याउने धार्मिकस्थलहरुको कुनै कमी छैन । जानकी माताको दरवार मधेश प्रदेशमा नै छ । छिन्नमस्ता, जानकी, हुँदै पञ्चवर्षीय बली चढाउने गढीमाई, पर्सामा अवस्थित गहवामाई र उनका सात दिदीबहिनी देवीहरुहुँदै रामसीतासँग प्रसंग जोडिएको पर्साको ठोरीको ऐतिहासिक ठाउँ पनि यही प्रदेशका धार्मिक पर्यटकका केन्द्र हुन् । त्यसैगरी चितवन राष्ट्रिय निकुञ्ज पूर्वतर्फ पर्सासँगै जोडिएको रमणीयस्थल मात्र नभई खुद पर्सा राष्ट्रिय निकुञ्ज, ताल–तलैया समेतको धनी मधेश प्रदेशमा जंगली पशुपंक्षी हेर्न पाउने अपार सम्भावना पनि यो प्रदेशमा प्रचुर छ ।
यसको अलावा राजनीतिक दृष्टिकोणले पनि अलौ पर्व भएको पर्सा, अंग्रेजलाई परास्त गरेको पर्सागढी, सिम्रौनगढ जस्ता अनेकस्थलहरु मधेश पदेशका गहना हुन् । यस्ता कुरालाई समेटेर यहाँ न त पर्यटकका लागि प्याकेज टुर बनाइएका छन् ? न त ब्राण्डिङ र प्रचार–प्रसारको काम नै ठोस रुपले गरिएको छ ? केवल पर्यटक आएनन्, केन्द्र सरकारले केही गरेन भनिन्छ मात्र । आफैले गर्ने कुरामा पनि माथिको मुख ताक्ने परिपाटी सर्वथा गलत हो । सुरुमा आफूहरुबाट हुन र गर्न सक्ने काममा सम्योजन गर्न प्रयास गर्नु पर्छ । जुन काम आफूले गर्दा नहुने र आफूहरुबाट असम्भव हुने छ, त्यस्ता कदमको लागि माथिको मुख ताक्नु पर्ने परिवेश बनाउनु श्रेयकर हुन्छ । राज्य पक्ष समेत यसमा चुकेको पाइन्छ ।
बरु नीजि क्षेत्रले यस्ता कुरालाई मध्यनजर गरी आफै नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर मधेशमा पर्यटक प्रवद्र्धन गर्न विभिन्न प्याकेज टुर बनाउन जुट्नु सकारात्मक कदम मान्नु पर्छ । यसको अगुवाई गर्ने नेपाल एशोसिएसन अफ टुर्स तथा ट्राभल्स एजेन्टस् (नाटा) लाई धन्यवाद भन्नै पर्छ । अहिलेसम्म यो प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि कुनै पनि प्याकेज टुरहरु बनाइएका थिएनन् । नाटाले भने मधेश प्रदेशमा ‘छिन्नमस्ता प्याकेज’, ‘जानकी प्याकेज’ र ‘निकुञ्ज प्याकेज’ गरी तीनवटा प्याकेजको अवधारण बनाएर अग्रसरता देखाउनु सह्रानीय कदम मान्नु पर्छ । जुन प्याकेजहरुले पूर्वको सप्तरी र सिराहालाई समेटेर ‘छिन्नमस्ता प्याकेज’, धनुषा, महोत्तरी र सर्लाहीलाई समेटी ‘जानकी प्याकेज’ र पर्सा, बारा र रौतहटलाई समेटी ‘निकुञ्ज प्याकेज’ बनाउने खाका नै सार्वजनिक गरेको हो ।
पर्यटन विकास विना प्रदेश र देशको पनि समृद्धि हुन नसक्ने निष्कर्ष सहित पर्यटक लोभ्याउन ठोस् नीति र गति अवलम्बन गरिनु सह्रानीय भन्नै पर्छ । साथै पर्यटन प्रवद्र्धनका लागि एकसुत्रीय लक्ष्य सहित अगाडी सरेको नाटाले प्याकेज निर्माणका लागि यहाँका होटल तथा पर्यटन व्यवसायीलाई प्रशिक्षण पनि दिएको कदममा भने नाटालाई धन्यवाद दिनु गलत होइन । तर यसको पूर्णताको लागि भने उसले पनि पहिलो कदम उचालिसकेपछि लक्ष्यसम्म भने दरिलो खुट्टा टेक्नै पर्छ ।