मधेस प्रदेशको ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको श्री गहवामाई रथ यात्रा आज शुक्रवार एक लाखभन्दा बढी श्रद्धालुहरूको सहभागितामा भव्य रूपमा सम्पन्न भएको छ।
गहवामाई तीर्थ क्षेत्र विकास समितिद्वारा गठित धार्मिक समन्वय समितिले मन्दिर पुनर्निर्माणको १६औँ वार्षिकोत्सवको अवसर पारेर तेस्रोपटक आयोजना गरेको रथ यात्रा बिहान ८ बजे विशेष पूजापाठसहित सुरु भएको हो। यात्राले घण्टाघर चोक, रेल्वे रोड, नगवा, छपकैयाको छठघाट चोक, बिर्ता, आदर्शनगर, महावीरस्थान हुँदै पुनः गहवामाई मन्दिरमा पुगेर समापन भएको थियो।
रथ यात्रामा वीरगञ्ज महानगरपालिका, पर्साका विभिन्न स्थानीय तह, साथै बारा, रौतहट, सर्लाही, मकवानपुर, चितवन र काठमाडौँबाट समेत श्रद्धालुहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। सीमावर्ती भारतीय सहरहरू रक्सौल, मोतिहारी, बेतिया, रामगढवा र अरेराजबाट पनि ठूलो संख्यामा श्रद्धालु सहभागी भएका थिए।

नगरवासीहरूले विभिन्न स्थानमा रथयात्रालाई पुष्पवर्षा, पानी र जुस वितरण गर्दै भव्य स्वागत गरेका थिए। सहभागीहरूले भगवा र रातो वस्त्रमा गहवामाईको जयजयकार गरेका थिए। रथ यात्रा अब परम्परा मात्र नभई एक भव्य धार्मिक पर्वको रूप लिइसकेको छ।
रथयात्राको अवसरमा वीरगञ्ज महानगरपालिकाले सम्पूर्ण विद्यालयमा सार्वजनिक बिदा दिएको थियो। प्रमुख राजेशमान सिंहले यस आयोजनाले धार्मिक पर्यटन र गहवामाई मन्दिरको प्रचारमा उल्लेखनीय योगदान दिएको बताउँदै आगामी वर्षदेखि विशेष बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए।
रथयात्राको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले सयौँ सुरक्षाकर्मी परिचालन गरेका थिए।

समितिका सचिव पप्पु गुप्ताका अनुसार यो मधेस प्रदेशकै पहिलो धार्मिक झाँकीसहितको सांस्कृतिक रथ यात्रा हो। उनले आज साँझ ७ बजे छपन्न भोग, भोलि बिहान ६ बजे महाप्रसाद वितरण र साँझ ४ बजे भन्डाराको कार्यक्रम हुने जानकारी दिए। लाखौँ श्रद्धालु महाप्रसाद ग्रहण गर्ने अपेक्षा गरिएको छ।
समितिका अध्यक्ष श्यामकुमार पोखरेलले समग्र महोत्सवको अनुमानित खर्च २५ लाख रुपैयाँ रहेको बताए। सामाजिक उत्तरदायित्वस्वरूप रक्तदान तथा स्वास्थ्य शिविरजस्ता कार्यक्रम पनि सञ्चालन गरिएको छ। यात्रापछि सम्पूर्ण आर्थिक विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जनाइएको छ।
धार्मिक पर्यटन प्रवर्द्धन, सनातनी परम्पराको संरक्षण र सामाजिक एकता अभिवृद्धिका लागि गरिएको यो आयोजनालाई समितिले ऐतिहासिक र प्रेरणादायी उपलब्धि मानेको छ।
