निर्देशक सुरेश मुखियाद्वारा लेखन तथा निर्देशन गरिएको डकुमेन्ट्री ‘ईटा भट्टा’ ले इंग्ल्यान्डको Rural Action Film Festival मा आधिकारिक मनोनयन पाएको छ। १५ मिनेट लामो यस शोर्ट डकुमेन्ट्री फिल्मले नेपालको ग्रामीण तराई क्षेत्रमा सञ्चालन भइरहेका ईंटा भट्टा उद्योगहरूका सामाजिक तथा वातावरणीय प्रभावलाई कलात्मक शैलीमा प्रस्तुत गरेको छ।
डकुमेन्ट्रीमा वायु प्रदूषण, श्रमिकको शोषण, बालश्रमको त्रासदी र सामाजिक संरचनामा परेको असरलाई दृश्यात्मक रूपमा उजागर गरिएको छ। निर्देशक मुखियाका अनुसार फिल्म निर्माणअघि उनले तीन महिना ईटा भट्टा नजिकै श्रमिकहरूसँग समय बिताएका थिए। “म उनीहरूसँग बसेँ, उनीहरूको दुःख सँगै बाँचें, अनि त्यस पीडालाई यथार्थ रूपमा क्यामेरामा उतारेँ,” उनले भने।
फिल्ममा धुलाम्य तराईका सडक, कालो धुवाँले ढाकिएको आकाश, डोकामा बोझ बोकेर हिँड्ने महिला श्रमिक, खोकी लाग्दै काम गरिरहेका बालबालिका लगायतका मार्मिक दृश्यले दर्शकलाई गहिरो प्रभाव पार्नेछन्।
मुखियाले यो डकुमेन्ट्रीलाई ‘कला मात्र होइन, न्यायको आवाज’ भनेका छन्। उनका अनुसार “यो फिल्म मार्फत हामीले कैयौँ वर्षदेखि थिचिएका श्रमिकहरूको आवाज सुन्न आग्रह गरेका छौँ। यस फेस्टिभलमा फिल्मको चयन हुनु नेपालका ग्रामीण समस्या र आवाजलाई अन्तर्राष्ट्रिय स्तरमा पु-याउने महत्वपूर्ण कदम हो।”
सामाजिक न्याय, वातावरणीय चेतना, श्रम र अधिकारजस्ता विषय उठान गर्ने यो डकुमेन्ट्री Rural Action Film Festival अन्तर्गत २०२५ जुलाई २४ देखि इंग्ल्यान्डको लिंकनशायरमा प्रदर्शन हुनेछ। यसमार्फत नेपालले ग्रामीण यथार्थ र वातावरणीय मुद्दामा अन्तर्राष्ट्रिय प्रतिनिधित्व गर्ने अवसर पाएको छ।