मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा ‘अहिराज’माथि बलात्कारको गम्भीर आरोप लाग्दासमेत उनी दुई महिना अघि पक्राउ पुर्जी जारी भएपछिसम्म पनि फरार छन्। प्रहरीले अहिलेसम्म उनको खोजी जारी रहेको जनाएको छ।
काठमाडौंको बानेश्वरस्थित एक कोठामा एक युवतीमाथि बलात्कार गरेको अभियोगमा अहिराजविरुद्ध माघ ३ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो। तर प्रहरीले तुरुन्तै अदालतबाट पक्राउ अनुमति नलिएपछि उनी फरार भएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) अपिलराज बोहराले अहिराजको खोजी जारी रहेको बताए।
“खोजी भइरहेको छ, फेला पर्न सकेका छैनन्,” एसपी बोहराले भने।
घटना विवरण
स्रोतका अनुसार घटना २०८१ जेठ ४ गतेको हो। सो दिन अहिराजले आफ्नो कोठामा कोही नभएको मौका छोपेर पीडित युवतीमाथि पटक–पटक बलात्कार गरेको आरोप छ। घटनापछि कसैलाई जानकारी गराए ज्यान मार्ने धम्कीसमेत दिएको पीडितको भनाइ छ।
बलात्कारपछि पीडित युवती प्रहरीसमक्ष पुगिन्। तर प्रहरीले जाहेरी लिन नमानेको आरोप छ। पीडितका अनुसार पटक–पटक प्रयास गर्दा पनि प्रहरीले जाहेरी दर्ता गर्न इन्कार गरेपछि उनी जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पुगेकी थिइन्।
पीडितले कात्तिक २८ गते सरकारी वकिलको कार्यालयमा जाहेरी निवेदन दिएकी थिइन्। कार्यालयले कात्तिक ३० गते जिल्ला प्रहरी परिसरलाई पत्राचार गर्दै जाहेरी दर्ता गर्न निर्देशन दिएको थियो। त्यसपछि मात्र माघ ३ गते जाहेरी दर्ता गरिएको थियो।
तर, पक्राउ अनुमति लिन प्रहरीले चैत २५ गतेमात्र जिल्ला अदालतबाट अनुमति लिएको अदालत स्रोतले जनाएको छ। सो आदेशपछि पक्राउ पुर्जी सार्वजनिक भएपछि अहिराज फरार भएको प्रहरी स्रोतको भनाइ छ। उनलाई भारत भागेको हुनसक्ने आशंका पनि स्रोतहरूले गरेका छन्।
राजनीतिक पृष्ठभूमि
राजेश झा अहिराज २०७७ साल फागुन ७ गतेदेखि २०७८ साल साउन ३२ गतेसम्म मधेस प्रदेश प्रमुख रहेका थिए। उनी तत्कालीन कम्युनिस्ट नेतृत्वको सरकारद्वारा नियुक्त भएका थिए।