चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै एक खर्ब ७४ अर्ब ९ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।
डिजेल, पेट्रोल, एलपिजी ग्यास, एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल गरी पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात गरिए पनि समग्रमा अघिल्लो वर्षको तुलनामा आयात एक अर्ब ६ करोड रुपैयाँले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
यद्यपि, आयात घटे पनि उक्त अवधिमा पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने ११.६६ प्रतिशतले अर्थात् ७ अर्ब ६४ करोडले वृद्धि भई ७३ अर्ब १८ करोड पुगेको छ।
भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालु वर्षको ११ महिनामा कार्यालयले सबैभन्दा धेरै राजस्व यही क्षेत्रबाट संकलन गरेको हो। कार्यालयको राजस्व मुख्यतः पेट्रोलियम र सवारीसाधनको आयातमा निर्भर रहेको पनि उनले बताए।
डिजेल आयात घट्दा पनि राजस्व बढ्यो
उक्त अवधिमा १० लाख ३० हजार २५३ किलोलिटर डिजेल आयात भई यसको मूल्य ८९ अर्ब ७६ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा ९३ अर्ब ६३ करोड बराबरको नौ लाख २१ हजार २७५ किलोलिटर डिजेल आयात भएको थियो। चालु वर्ष डिजेलबाट ४१ अर्ब ३ करोड राजस्व संकलन भएको छ भने अघिल्लो वर्ष सोही अवधिमा ३६ अर्ब ४ करोड संकलन भएको थियो।
पेट्रोल र एलपिजी ग्यासको आयात र राजस्व
पेट्रोल आयात ३५ अर्ब ३४ करोड मूल्य बराबरको चार लाख १३ हजार ५०४ किलोलिटर पुगेको छ भने अघिल्लो वर्ष ३६ अर्ब ४ करोडको तीन लाख ६१ हजार ७२७ किलोलिटर थियो। यसबाट २३ अर्ब ३८ करोड राजस्व संकलन भएको छ।
एलपिजी ग्यास ३३ अर्ब ३५ करोड मूल्यको २९ करोड १४ लाख किलोग्रामभन्दा बढी आयात भएको छ, जसबाट ६ अर्ब २४ करोड राजस्व संकलन भएको हो। अघिल्लो वर्ष सोही अवधिमा २७ अर्ब ७१ करोडको २५ करोड ७९ लाख किलोग्राम ग्यास आयात भएको थियो।
एटिएफ र मट्टितेल आयात
एटिएफ १५ अर्ब ३ करोड मूल्यको एक लाख ६७ हजार किलोलिटर आयात भएको छ, जसबाट २ अर्ब ३५ करोड राजस्व संकलन गरिएको छ।
मट्टितेल आयात ५९ करोड मूल्यको ६ हजार ७३० किलोलिटर रह्यो, जसबाट १६ करोड राजस्व प्राप्त भएको छ।
समग्रमा पेट्रोलियम पदार्थको आयात मूल्य घटे पनि राजस्वमा उल्लेख्य वृद्धि भएको तथ्यांकले देखाउँछ।