“टाँगियाबस्तीमा बत्ती बल्दा सरकारभित्रैको युद्ध जितेजस्तो अनुभव भयो,” नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ भावुक हुँदै स्मरण गर्छन्। वर्षौं अँध्यारोमा थुनिएको बस्तीमा उज्यालो पुर्याउँदा उनले ‘शरणार्थी होइन, आफ्नै नागरिकलाई न्यूनतम सुविधा दिनु पर्छ’ भन्ने अडानका साथ राज्य संयन्त्रको अवरोध पार गरेका थिए।
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाबस्तीलाई लामो समयसम्म प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको नाममा विद्युतीकरणबाट वञ्चित गरिएको थियो। तर, घिसिङको पहलमा २०७९ असोजबाट करिब १,४७६ घरधुरीमा बत्ती बल्न थाल्यो।
करिब २ करोड ३४ लाख रुपैयाँको लगानीमा बनेको प्रसारण लाइनबाट बस्तीमा उज्यालो पुगेपछि घिसिङ जेठ २७ गते मंगलबार पहिलोपटक त्यहाँ पुगेका थिए। उनले त्यो दिनलाई "सरकारी निकायबीचको अन्तरसंघर्ष जितेको दिन"का रूपमा वर्णन गरे।
उनले बताएअनुसार, प्राधिकरण बत्ती दिन तयार भए पनि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थल निर्माण हुने भन्दै रोक लगाएको थियो। यसैबीच, पहिलो कार्यकालमा गरिएको टेण्डर पनि रद्द भयो। तर, दोस्रो कार्यकालमा उनले वन कार्यालयको अवरोध पार गर्दै, जंगल क्षेत्रमा कभर्ड कन्डक्टर प्रयोग गरी मोटरबाटोको छेउबाट ७ किलोमिटर ११ केभी लाइन तानेर बत्ती बाल्न सफल भए।
ऊर्जा मन्त्रालयको समन्वयमा बस्तीका सबै घरधनीबाट लिखित कबुलियत संकलन गरी पर्यटन मन्त्रालयबाट विद्युतीकरणको स्वीकृति लिइएको थियो।