१) महिलाहरुको पाठेघरमा क्यान्सर के कारणले हुन्छ ?
ह्युमन प्यापिलोना भाइरसले गर्दा महिलाहरुको पाठेघरको क्यान्सर हुनुको कारण हुन्छ । पहाडी जिल्लाको तुलनामा मधेशका महिलाहरुमा पाठेघर सम्बन्धी समस्याहरु बढि देखापरेको छ । आफ्नो अभिभावकहरुलाई नभनेर समस्या लुकाउने कारणले पनि यसले व्यापकता पाइरहेको देखिन्छ । योनीबाट पानी जाने, पेट दुख्ने समस्या भएका महिलाहरुलाई पाठेघर क्यान्सर हुने सम्भावना बढि रहन्छ ।

२. पाठेघरको सबै क्यान्सर एकै प्रकारको हुन्छ ?
पाठेघरमा हुने सबै क्यान्सर एकै प्रकारको हुँदैन । यो क्यान्सरलाई चार चरणमा विभाजन गरिएको छ । पाठेघरको क्यान्सर पहिलो चरणमा पाठेघरको मुखमा मात्र भएको हुन्छ । जसलाई केमोथेरापी र रेडियो थेरापीबाट ठिक पार्न सकिन्छ । दोस्रो चरणको क्यान्सर पाठेघरको मुखभन्दा माथि गइसकेको हुन्छ । यसलाई पनि केमो थेरापी र रेडियो थेरापी गरेर अप्रेशन तिर जानुपर्छ । तेस्रो चरणको क्यान्सर पाठेघरको अन्य अंगलाई पनि छोएको हुन्छ । यसलाई केमो थेरापी र रेडियो थेरापी गरेर अप्रेशन गर्नु पर्छ । । यसरी पनि ठिक हुन्छ भन्न सकिन्न । उपचार गर्दै गएपछि मात्र थाहा हुन्छ । पाठेघरको चौथो चरणको क्यान्सर पाठेघरमा भएर पनि पाठेघर बाहेक अन्य अंगमा भइसकेको छ कि ? केमो थेरापी, रेडियो थेरापी, अप्रेशन गरेर औषधी सबै चलाएको हुन्छ । तर यो चरणमा पुगेपछि ठिक हुन्छ नै भन्ने हुन्न ।
३. कुन उमेर समूहका महिलामा पाठेघरको क्यान्सर बढी हुन्छ ?
३५ वर्ष उमेर नाघेका विवाहित महिलाहरुलाई पाठेघरको क्यान्सर बढि हुने गरेको पाइन्छ । ३५ वर्ष उमेर नाघेका महिलाहरुले खानपानमा ध्यान दिनुपर्छ । तनाव कम गर्नुपर्छ । नियमित व्यायाम गर्नुपर्छ । पाठेघरको मुखको पानीको हरेक ६÷६ महिनामा जाँच गर्नुपर्छ ।
४. खासमा यसका लक्षण के–के हुन्छन् ?
यसका धेरैवटा लक्षणहरु हुन सक्छन् । ती मध्ये पाठेघरको क्यान्सर हुदाँ धेरै पेट दुख्ने हुन सक्छ । महिनावारी हुदाँ धेरै रगत बग्छ । यौन सम्पर्क गर्दा पेट दुख्नु, सम्पर्क पछि रगत बग्ने हुन्छ । अन्य रोगहरुमा जस्तो धेरै लक्षण क्यान्सरमा देखिन्न । सामान्य लक्षणहरु मात्र देखिन्छ ।
५. महिलाहरुलाई यसको सन्दर्भमा थप सुझावहरु के दिनुहुन्छ ?
शारिरिक रुपमा केही असजिलो भएको महसुस हुनासाथ रोग नलुकाई घरका मानिसलाई भनेर छिटोभन्दा छिटो उपचार गराउने तर्फ लाग्नुपर्छ । पहिलो र दोस्रो चरणमा उपचामा गरेमा क्यान्सर ठिक हुन्छ । तर सबैलाई क्यान्सरको उपचार छैन भन्ने सोच समाजमा फैलिएको छ । तर महिनावारी हुँदा रगत बगेमा, यौन सम्पर्कपछि रगत बगेमा ३५ वर्ष नाघेका महिलाहरुले हरेक ६÷६ महिनामा पाठेघरको मुखको जाँच गरेर पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सकिन्छ । पाठेघरको मुखको जाँच धेरै महंगो छैन । सरकारी अस्पतालमा यो जाँच उपलब्ध छैन । प्राइभेटमा उपलब्ध छ । १ हजार १ सयमा नै यसको परिक्षण हुन सक्छ । अहिले ९ देखि १४ वर्षसम्मको बालिकाहरुलाई पाठेघरको क्यान्सर हुन नदिन ह्युमन प्यापोलोना भाइरस खोप निःशुल्क लगाउन पनि थालिएको छ । सरकारी अस्पतालमा पनि यो सेवा सुरु गरिएको छ ।