चिकित्सा क्षेत्रमा मुटुको महत्व उच्च छ, खासमा यसले के काम गर्छ ?
मुटुमा ४ वटा कोठा हुन्छ । मुटुको दायाँपट्टीको कोठामा शरीरको सबै भागबाट अशुद्ध रगत ल्याउँछ । त्यो अशुद्ध रगत फोक्सोमा जान्छ । फोक्सोमा अक्सिजनसंग मिलेर अशुद्ध रगत शुद्ध भएर बाँया पट्टी आउँछ । बायाँ पट्टीको भेन्ट्रिकलको तलपट्टी भागमा आउँछ । एओटा हुदै शरीरको विभिन्न भागमा पुग्छ । साथै मुटुले पनि शुद्ध रगत पाउँछ । शरीरको विभिन्न भागमा शुद्ध रगत पठाउने काम मुटुले गर्छ । त्यसैले मुटु शरीरको संवेदनशील अंग हो ।
शरीरको कुन भागमा मुटु हुन्छ ?
धेरै हार्टअट्याकका बिरामीहरुलाई मैले सेवा दिएको छ । कतिपय शिक्षित मानिसहरुलाई पनि मुटु शरीरको कुन भागमा हुन्छ ? भन्ने कुराको ज्ञान नभएको पाउने गरेको छु । हार्टअट्याकलाई पनि ग्याँष्टिक हो भनेर घरमा नै बस्ने गरेको पाइएको छ । मुटु छातिको देब्रेतिर हुन्छ । छातिको बीच भागमा स्टर्नल हुन्छ । त्यसको देब्रेतिर र तलपट्टी फर्केर बसेको हुन्छ । महिलाहरुको हकमा स्तनले छोपेर राखेको हुन्छ ।
कसरी पत्ता लगाउने त मुटु नै दुखेको हो भनेर ?
धेरै जसो मुटुको दुखाई खानासंग सम्बन्धित हुदैन । छिटो–छिटो हिड्दाँ, दुई तिन तला चढ्दाँ, छिटो हिड्दा छाती भारी भएर आएमा, हिडेपछि दुखाई सुरु हुने, अझै हिड्दै जादाँ त्यो दुखाई बढ्ने, एकछिन आराम गरे त्यो दुखाई कम हुने सय प्रतिशत मुटुको दुखाई हो । मुटुको दुखाई सरेर आउने गर्दछ । मुटुबाट सुरु भएको दुखाई चिउडो, हात, पाखुरा, गाला र पिठ्युमा पनि सरेर दुख्ने गर्छ । आम जनताले यो बुझ्न जरुरी छ ।
ग्याँसले दुख्ने दुखाई खालीपेट हुदाँ दुख्ने गर्छ । उसिनेको तारेको, पिरो चटपटे जस्तो खानेकुराहरु खाएमा खाना खाईसकेपछि दुख्ने गर्छ । कहिलेकाँही हार्टअट्याक हुदाँ पनि ग्याँस भनेर घरमा बस्दाँ समय बितेर मानिसको ज्यान जाने गरेको छ । आफूलाई अप्ठ्यारो लाग्दा जुन किसिमको दुखाई भएमा समयमा नै डाक्टरको परामर्श लिनु आवश्यक छ । हार्टअट्याककोलागि समय एकदमै महत्वपूर्ण कुरा छ । जति छिटो डक्टरकोमा पुगेर उपचार गरी मुटुलाई बचाउन सक्ने समय प्रशस्त हुन्छ । रातमा मुटु दुखेको छ भने उपलब्ध भएसम्म मुटु रोग विशेषज्ञ वा नजिकको स्वास्थ्य उपचार केन्द्र, अस्पतालहरुमा गएर जाँच गराउनु पर्छ ।
के कारणले मुटु रोग लाग्न सक्छ ?
मुटु रोग जन्मनुभन्दा अगाडीदेखि पनि लाग्न सक्छ । बच्चाको भ्रुण अवस्थामा मुटु बन्ने क्रममा नै खराबी भएर पनि मुटु रोग लाग्न सक्छ । आमाको गर्भमा बच्चाको मुटु बन्ने क्रममा नै पनि खराबी हुनसक्छ । आमालाई ज्वरो आएमा, आमालाई भाइरस इन्फेक्सन भएमा अथवा आमाले कुनै औषधीको सेवन गरेमा जस्तैः आमाले छारे रोग, गर्भवती हुदाँ डाइबिटिज, थाइराइड हुने, धेरै चुरोट खाने, सुर्तीजन्य पदार्थ र अल्कोहलको सेवन गदाँ पनि बच्चाको मुटु बन्ने क्रममा असर गर्न सक्छ । बच्चा जन्मेपछि विद्यालय उमेरका बालबालिकाहरु १५ वर्ष मुनिका बालबालिकाहरुमा हुने गर्छ । रिमेटिक हार्ट डिजिज (बाल, बाथ, मुटुरोग) भनिन्छ । एशियन देशहरुमा बाल, बाथ, मुटुरोग धेरै छ । बच्चामा चिसो लागेर टन्सिल भइरहन्छ । त्यो टन्सिलको किराहरु मुटुमा गएर भल्भलाई असर गर्ने हुन्छ । त्यो बेलामा समयलाई बुझेर उपचार गराउनु पर्छ । कतिपय बच्चालाई खुट्टाको जोर्नी दुखिरहने, घाँटी दुखिरहने, बारम्बार टन्सिल भइरहने हुन्छ । उनीहरु यो अवस्थामा डक्टरको परामर्श नलिए, पछि गएर मुटुलाई असर गरिसकेको हुन्छ । अनि धेरै गाह्रो भएपछि डक्टरकोमा जाँदा धेरै ढिलो भइसकेको हुन्छ । समयमा नै उपचार गरे मुटु रोग निको पनि हुन्छ । समयमा नै बच्चाको मुटुरोग पत्ता लगाएर उपचार गरेन भने पछि गएर मुटुको भल्भ पनि फेर्नु पर्ने हुन्छ । हाम्रो शरिरलाई चाहिने सामान्यतया धेरै किसिमका किराहरु हुन्छन् । टन्सिलका किराहरु मुटुको किरा भएको किरा जस्तै नर्मल हुन्छ र साथी भनेर जान्छ । पछि गएर बिस्तारै भल्बहरु मोटो हुने हुन्छ । मुटु रोग धेरै कारणले गर्दा हुन सक्छ । ब्लड प्रेशर उच्च हुने, ब्लड प्रेसर कम हुने, मुटुको चाल सम्बन्धी गढबढी हुनु हो । बच्चा पेटमा भएपछि सुत्केरी हुने अवस्थामा मुटुको मांसपेशी खराब भएर पनि हुने गर्छ । गर्भावस्थाको अन्तिम चरणमा प्रेशर अति नै उच्च हुन्छ । कुनै आमाहरुको बच्चा जन्मने बित्तिकै मुटुमा असर गरेर मुटु सुन्निएर आउँछ । बच्चा जन्मने बित्तिकै स्वाँ–स्वाँ भयो । श्वास लिन गाह्रो भयो भने पनि तुरुन्त मुटु रोग विशेषज्ञलाई देखाउनु पर्छ । मुटुको भिडियो एक्स–रे गराउनु पर्छ । बच्चामा भएको असर पछि गएर मात्र थाहा हुन्छ । बढ्दो उमेरमा विद्यालय उमेरमा धुम्रपान, मद्यपान, सुर्तीजन्य पदार्थ सबैले गर्ने असर भनेको मुटुमा नै हो । अहिले १७ वर्षको केटामा पनि हार्टअट्याक भइरहेको छ । महिला तथा पुरुष दुबै समूहका युवाहरुलाई हार्टअट्याक धेरै भइरहेको छ । हामीले यापन गर्ने जीवन स्तरले पनि प्रभाव पार्दछ । दैनिक व्यायम गर्दैनौं । वातावरण प्रदुषित छ । तनावमा बाँचिरहेको छ । जंकफुडहरु धेरै खान्छौं । हामीलाई घरमा खाना बनाएर खान फुर्सद छैन । हामीले आफ्नो स्वास्थ्यलाई ख्याल गरेको छैनौं ।
उसो भए मुटुलाई कसरी बचाउन सकिन्छ ?
मुटु रोगकोलागि मोटोपन मुख्य कारण हो । हरेक मानिसले आफ्नो व्यक्तिगत पासवर्ड के हो बुझ्नु पर्छ । आफ्नो पासवर्डको बारेमा बुझौं । मेरो उचाई, तौल कति छ । उचाई र तौल अनुसार शारीरिक बनावट ठिक छ कि छैन ? मोटोपन छ की छैन ? मोटोपन छ भने त्यसलाई कतिमा राख्नु उचित हुन्छ ? धुम्रपान, सुर्तीजन्य पदार्थ र अल्कोहलको सेवन कति गरिदैछ ? यो पहिलो नम्बरमा बुझ्न जरुरी छ । धुम्रपान, सुर्तीजन्य पदार्थ र अल्कोहल हिजो खाएर आज समस्या देखिने होइन । यसको असर १५ वर्षपछि देखिन्छ । यदी हामीले मद्यपान, धुम्रपान गर्न छाडेमा आयु १५ वर्ष लम्बिन्छ । तनावग्रस्त जिवनयापन नगरौं । आफैले गर्न खोज्यो भने तनावबाट बच्न सकिन्छ । वातावरण दुषित गर्न कम गरौं । प्लाष्टिक र प्लाष्टिकका जन्य पदार्थ सकेसम्म प्रयोग नगरौं । तातो खानेकुराहरु खान, राख्न प्लाष्टिकजन्य पदार्थको प्रयोग नगरौं । तेलको मात्रा कम गरौं । एकपटक तताएको तेल पुनः प्रयोग नगरौं । तेल तताइसकेपछि कोलेस्टोरोन परिवर्तन हुन्छ । कोलस्टोरोन मुटुकोलागि हानीकारक चिज हो । तताएको तेल फेरि तताएर पुनः प्रयोग नगरौं । तेललाई माया गर्दा आफ्नो स्वास्थ्यलाई हानी हुन्छ ।
आफ्नो हातमा भएको कुरा र हातमा नभएको कुरा दुईवटा कारणले मुटु बचाउन सकिन्छ । उमेर, वंशाणुगत गुण, लिङ्गलाई परिवर्तन गर्न र रोक्न सक्दैनौं । पूर्वजहरुले कोलमा पेलेको तोरीको प्रयोग गर्नु नै राम्रो मान्थे । उसिनेर खान मिल्छ, तेल कम गरेर नै हुन्छ भने सकेसम्म उसिनेको चिजहरु खान सुरु गर्ने । सकेसम्म धेरै तारेको, भुटेको र जंकफूडहरु नखाने । क्यानमा, बोतलमा राखेको चिजहरु नखाऔं । तातो खानेकुराहरु प्लाष्टिकको भाडामा नखाऔं । ताजा खानेकुराहरु खाऔं । हरियो सागसब्जीहरु प्रशस्त मात्रामा खाऔं । फाइबर जन्य तत्व भएका गहुँ,जौँको उपयोग गरौं । सेतो वस्तु हानीकारक मानिन्छ । नुन, चिनी, मैदाजन्य परिकारहरु सकभर नखाऔं । खान नै मन लागे कम मात्रामा खाऔं ।
लिङ्गका आधारमा पनि मुटु रोग कम र बढि लाग्ने गर्छ ?
महिलामा हुने हर्मोनले मुटुलाई बचाउन सहयोग गर्छ । महिनावारी सुरु हुनुभन्दा अगाडी महिलामा भएको हर्मोनले मुटुरोगबाट बचाउँछ । महिनावारी सुरु भएपछि भने मुटु रोग लाग्ने सम्भावना बढ्दै जान्छ । तर यसको तुलनामा पुरुषमा भने मुटु रोग बढि लागेको पाइन्छ । कारण खानपानले गर्दा पनि हो ।
मानिसहरु मुटु रोग सम्बन्धी कत्तिको सचेत पाउनु हुन्छ ?
जनचेतनाको धेरै खाँचो छ । कतिपय मानिसको मुटुको इसिजी, मुटुको भिडियो एक्स–रे शिक्षित वर्गको नै भएको पाइदैन । वीरगंजको सन्दर्भमा अझ धेरै मानिस मुटु रोगको बारेमा जानकार नभएको पाएको छु । यहाँ हामीले आफूलाई माया गरेका छैनौं । हाम्रो मुटुको स्थिति कस्तो छ ? हामी अस्पताल बिरामी भएर होइन । मुटुको अवस्थाबारे बुझ्न अस्पताल जाऔं । कोलस्ट्रोनको लेभल कति छ । सुगर, थाइराइडको अवस्था कस्तो छ । मृगौलाले कस्तो कार्य गरिरहेको छ भन्ने कुरा पत्ता लगाउनु पर्छ । मुटुको इसिजी, भिडियो एक्स–रे गरेर मुटुमा समस्या भएको नभएको एकिन गर्न सकिन्छ । इसिजी मुटुकोलागि लालपुर्जा नै हो । स्वस्थ्य मानिसले पनि सके १÷१ वर्षमा नसके ३÷३ वर्षमा जाँच गरेर हेर्नुपर्छ । अहिले युवाहरुको मृत्यु हुने मुख्य समस्या धेरै बढेर गएको छ । जिम गर्न गएका युवाहरुको मृत्यु भएको छ । धेरै जसो खेलाडीहरुले फिल्डमा जानुभन्दा अगाडी मुटुको जाँच गरेर मात्र जानु पर्छ । मुटुमा हाइपोट्रफिक कार्डियोमाईप्याथिक रोग हुन्छ । जसले गर्दा मुटुको मासुको भागहरु धेरै मोटो भएको हुन्छ । त्यस्ता रोग भएको मानिसहरुलाई व्यायम गर्दा गाह्रो भएर ज्यान जाने खतरा हुन्छ ।
चिकित्सा सेवामा रहँदा विर्सन नसकिने क्षण पनि छ ?
नारायणी अस्पतालमा काम सुरु गर्दाको समयमा हार्टअट्याकको केस आएको थियो । तुरुन्तै ढिलो नगरी उपचार सुरु गर्नु पर्ने थियो । मैले गर्नु पर्ने उपचार भनेको मुटुमा रगत जमेर बिरामी बाच्न नसक्ने अवस्थामा थिए । त्यो मुटुमा जमेरको रगत पगाल्नु पर्ने मेरो भूमिका हुन्थ्यो । चिकित्सकको भाषामा यसलाई थर्मलाइसिस् गर्ने भनिन्छ । त्यसको आफ्नै खराबीहरु पनि छन् । एक घण्टा भित्र बिरामीलाई बचाउन नसकिए उनको मृत्यु हुनेवाला थियो । यो केशलाई तुरुन्तै थर्मलाइसिस् गर्नुपर्छ भनेर म गर्न तयार भए । सरकारी अस्पताल हो केही आवश्यक परेमा कसैले साथ दिंदैनन् । बढि जोखिमपूर्ण छ भन्ने अन्य चिकित्सकको पनि सल्लाह थियो । तर मैले त्यो रिक्स मोलेर काम गरे । बिरामी भारतका थिए । पटनाको अस्पतालबाट फिर्ता पठाएका बिरामी थिए । परिवारले आश मारिसकेका बिरामी भए पनि राति १ बजे नै थर्मलाइसिस् गरे । उहाँलाई सुधार भएर आयो । उमेर बढी भएको मानिस उपचार प्रभावकारी हुदाँ एकदमै खुशी लागेको थियो । उहाँलाईपछि हामीले एन्जियोग्राम पनि ग¥यौं । एन्जियोग्राममा ३ वटा भल्भ बन्द भएको पाइयो । उहाँलाई स्टेण्ड लगाउन नमिल्ने बाइपास सर्जरी गर्नुपर्ने हो । उहाँहरुले बाइपास सर्जरी गर्न मान्नु भएन । आज ८ वर्ष भयो । त्यो बुबा आजसम्म पनि जीवित नै हुनुहुन्छ । नियमित औषधी सेवन गर्दै हुनुहुन्छ । यस्ता केशहरु धेरै छन् । यो केशले निकै मेरो मन छुने गरेको छ । मैले रिक्स नलिएको भए उहाँ उतिखेर नै वित्नु हुन्थ्यो ।
त्यो केशको बारेमा भारतको पत्रिकामा पनि घाटमा पुगेको बिरामी पनि बचाउन सफल भनेर समाचार आउँदा चाही झन खुशी लागेको थियो । वीरगंजमा ४, ५ सय बिरामीहरुको थर्मलाइसिस् गरिसकेको छु । सबै केश राम्रो भएको छ । यसरी अन्तिम क्षेणका बिरामी बाचेको अवस्था सम्झन लायक हुन्छन् ।
सेवाकालमा चुनौती चाही कस्तासम्म सामना गर्नु भएको छ ?
आइ एस्सी पढ्ने बेलामा पनि केटीहरु ७ जना र सबै केटा थिए । सात जना मध्ये पनि कोही नर्सिङ्गमा नाम निस्केर पढन गए । कसैको विवाह भयो । कक्षामा पढने बेलामा एक्लै थिए । पछि एम.बि.एस पढ्ने बेलामा पनि रसियाको युरोपमा पनि नेपाली ग्रुपमा ५ जनामा म एक्लै थिए । फर्केर काम गर्ने ठाउँमा पनि कार्डियोलोजीमा काम गर्ने एक्लै थिए । अहिले पनि नेपाल र विदेशमा कन्फ्रेन्समा जादाँ पनि महिला डाक्टरको संख्या कम नै हुन्छ । म सधै कम महिलाको तुलनामा पर्छु । त्यसैले जे कुरालाई पनि सकारात्मक रुपमा सोचेर अगाडी बढ्छु । गर्व पनि लाग्छ । वीरगंजमा महिला पनि डक्टर हुन्छ र ? भन्ने सम्मको कुरा फेस गरेको छु । संख्यात्मक हिसाबले उपस्थित हुँदा हुने चुनौती बाहेक कार्य सम्पादनका सवालमा खासै अप्ठ्यारो आइपरेको छैन ।
कति प्रतिशत मानिसको मुटुको लापर्वाहीको कारण ज्यान जाने गरेको छ ?
डब्लु एच ओले ‘गो बेड फर ओमन’ भनेर कार्यक्रम चलाइरहेको हुन्छ । खास गरी प्रतिशतका आधारमा ठ्याक्कै यसको डाटा मैले फेला पारेको छैन । तर अधिकाँश बिरामीहरुको अध्ययनले केही न केही लापर्वाही फेला परेकै छ । दैनिक कसरत कसरी गर्ने, अनलाइन तर्फ हेरेर पनि केही कसरत, योगा गर्ने, एकै स्थानमा नबसी हिडुडुल गर्ने बानी चाही सबैले बसाउनु पर्छ । हरेक दिन बिहान मर्निङ्गवाक गर्ने, मर्निङ्गवाक गर्दा छिटो–छिटो कम्तिमा २० मिनट हिड्ने, नभ्याए पनि हप्ताको ५ दिन व्यायम अनिवार्य गर्ने त्यो पनि पसिना आउने गरी मुटुलाई दौडाउने गरी कसरत गर्नु उचित हुन्छ ।
मुटु रोग लाग्न नदिन थप के–के गर्न सकिन्छ ?
जुन कुरा आफ्नै हातमा छ । त्यो सुधार गर्न सकिन्छ त्यसमा लाग्न ढिलो गर्नु हुन्न । धुम्रपान, मद्यपान गर्ने बानी छ भने आजदेखि अहिले देखि नै त्याग्नु पर्छ । अफिसमा नै बसिरहने काम छ भने पनि २० मिनटमा ३ मिनट हिड्नु पर्छ । जंकफूडहरु खान बन्द गर्नुपर्छ । खानामा सकेसम्म हरियो सागपात, तरकारी खानु पर्छ । फाइबरयुक्त खानेकुरा खानुपर्छ । सेतो खाद्यपदार्थमा कार्बोहाइड्रेट बढी भएको हुनाले खाना कम गर्नुपर्छ । हरेक दिन एउटा मात्र भए पनि फलफूल खानु पर्छ । पानी प्रशस्त मात्रामा पिउनु पर्छ । कसरत नियमित गर्नुको विकल्प छैन । अनि तारेको, भुटेको खानेकुराहरु सेवन गर्नु हुँदैन । तनावग्रस्त जीवनलाई कम गर्न पर्छ । जसलाई पहिलेदेखि सुगर, प्रेशर, थाइराइड छ भने आफ्नो रोगको बारेमा थाहा पाएर नियमित रुपमा औषधी सेवन गर्नु पर्छ । डाक्टरको सल्लाह बिना आफ्नो मनले कुनै औषधी सेवन गर्नु हुदैन ।