नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशन नगरी चुनावमा जानु पार्टीका लागि घाटा हुने बताएका छन्। उनले २२ भदौ अघि र अहिलेको नेपालको राजनीतिक अवस्था फरक भइसकेको भन्दै नयाँ नेतृत्व चयनसहित जनतासँग पुनः जोडिन महाधिवेशन आवश्यक रहेको टिप्पणी गरे।
मंगलबार बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा धारणा राख्दै थापाले महाधिवेशन जनतासँग प्रत्यक्ष संवाद र जवाफदेहिता स्थापित गर्ने मञ्च भएको बताए। उनले भने, ‘हामी अहिले आन्दोलन कांग्रेसविरुद्ध नै भएको अवस्था देखिरहेका छौं। कार्यकर्ता र शुभेच्छुकहरू हामीसँग उत्तर खोजिरहेका छन्। ती प्रश्नहरूको जवाफ नदिई अघि बढ्यौं भने मतदाताले आन्दोलनको अन्तिम रूप मतदानमा देखाउनेछन्।’
थापाले मतदाताले अब कांग्रेसको उम्मेदवार भोट माग्न आउने पर्खाइमा नरहेको उल्लेख गर्दै भने, ‘जनता हामीलाई भोट दिन आतुर भएर बसेका छैनन्। कांग्रेसप्रति उठेका प्रश्नहरूको जवाफ पाउने अपेक्षामा छन्।’
उनले जेनजी आन्दोलनलाई पूर्ण रूपमा प्रायोजित आन्दोलन भनेर पन्छिन नपाइने स्पष्टिकरण पनि दिए।
महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसलाई सच्याउने र पुनर्गठन गर्ने जिम्मा दिँदै उपचारका लागि सिंगापुर प्रस्थान गरेको जानकारी पनि दिए।
थापाले देश अहिले तीन सम्भावनाको मोडमा रहेको भन्दै भने, ‘देश थप हिंसातर्फ पनि जान सक्छ, अहिलेको जस्तो ठप्प अवस्थामा रहन सक्छ, वा अहिले मुखरित जनभावनालाई समेट्दै नयाँ नेतृत्व र दिशा लिन सक्छ।’
उनले कांग्रेसले विगतमा आफूले नेतृत्व नगरेका धेरै आन्दोलनलाई संस्थागत गरेको स्मरण गर्दै वर्तमान अनिश्चिततालाई व्यवस्थापन गर्ने जिम्मा पनि कांग्रेसकै भएको दाबी गरे।
‘यो अनिश्चिततालाई सम्हाल्ने जिम्मा हामीले लिनुपर्छ,’ थापाले भने, ‘कांग्रेसले भन्नुपर्छ- हामी छौं, हामीले यो देश सम्हाल्छौं।’