पब्लिक फिटनेस सेन्टर, वीरगञ्जको आयोजनामा आठौं वार्षिक उत्सव तथा सम्मान कार्यक्रम आइतबार भव्य रूपमा सम्पन्न भएको छ। ‘Winner Never Quits And Quitter Never Wins’ भन्ने प्रेरणादायी नाराका साथ सम्पन्न उक्त कार्यक्रममा प्रदेश सभा सांसद श्याम पटेल प्रमुख अतिथिका रूपमा सहभागी थिए, भने कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष करण यादवले गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पटेलले नियमित व्यायामले व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे। साथै, उनले खेलकुद क्षेत्रमा केन्द्र सरकारले वीरगञ्जलाई उपेक्षा गर्दै आएको गुनासो व्यक्त गरे। “नेपालकै प्रमुख रंगशालामध्ये एक नारायणी रंगशाला बजेट अभावका कारण जिर्ण अवस्थामा पुगेको छ,” उनले भने, “मधेशले राष्ट्रिय खेलाडीहरू उत्पादन गरिरहे पनि केन्द्रको दृष्टिकोण अझै विभेदपूर्ण छ।”
कार्यक्रममा शुभेच्छुक वक्ता नूतन सरावगीले बाहिरी शरीर सरह भित्री स्वास्थ्यको ख्याल गर्नुपर्नेमा जोड दिँदै महिलाहरूका लागि जिम अनुपयुक्त भन्ने सोच पूर्णतः गलत भएको बताइन्। उनले महिलाहरूलाई पनि जिम क्लबमा समान पहुँच र अधिकार सुनिश्चित हुनुपर्ने धारणा व्यक्त गरिन्।

त्यसैगरी, कमल चौलागाईंले मधेश र वीरगञ्जप्रति राज्यको विभेदपूर्ण दृष्टिकोण रहेको आरोप लगाउँदै अधिकार मागेर होइन, छिनेर लिनुपर्ने विचार राखे। “पर्सामा तीनजना मन्त्री छन्, तर वीरगञ्जले के पायो भन्ने प्रश्न आजको आवश्यकता हो,” उनले भने। उनले युवाहरूको सरोकार केवल खेलकुदमै सीमित नरही समग्र विकास र निर्माणसँग जोडिएको पनि उल्लेख गरे।
खेलकुद पूर्वाधारलाई सरकारको प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउँदै मणिन्द्रलाल नेपालीले नारायणी रंगशालाको सन्दर्भमा बारम्बार देखिएको बजेटीय भेदभावप्रति गहिरो असन्तुष्टि व्यक्त गरे।
उक्त अवसरमा सुमित मलिक, सुजित कुमार शाह, सुजित शाह, प्रमिला चौरसिया, असलम आलम, अरुण कुमार साह, र मणिन्द्रलाल नेपालीलाई विशेष सम्मान गरिएको थियो।

क्लबको आफ्नै सभाहलमा सम्पन्न कार्यक्रममा शिवनाथ यादव र अनिश कान्त कुशवाहाले संयुक्त रूपमा सञ्चालन गरेका थिए। कार्यक्रममा सेन्टरका शुभचिन्तक, सञ्चारकर्मी, सामाजिक अभियन्ता तथा क्लबका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।