प्रतिनिधिसभाको बैठक यही जेठ २० गतेदेखि असार १५ गतेसम्म १९ दिन बस्ने भएको छ। सभामुख देवराज घिमिरेको अध्यक्षतामा शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठकको सम्भावित कार्यतालिका तय गरेको हो।
कार्यतालिका अनुसार जेठमा १० दिन -२०, २१, २२, २३, २५, २६, २७, २८, २९, र ३० गते तथा असारमा ९ दिन - १, २, ३, ४, ५, ६, १०, ११, र १२ गते बैठक बस्नेछ।
संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार जेठ २० गतेदेखि बजेटमाथिको छलफल सुरु हुनेछ। जेठ २३ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने छन्। यस्तै २६ गतेदेखि मन्त्रालयगत छलफल र खर्च कटौतीका प्रस्तावहरू प्रस्तुत गरिनेछन्।
जेठ २० गते संघीय निजामती सेवा विधेयक, र २५ गते भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पेश गरिने कार्यतालिकामा उल्लेख छ।
तर, शिक्षा विधेयक भने हाल कार्यसूचीमा नरहेको संसद सचिवालयले जनाएको छ। संसदीय समितिबाट उक्त विधेयकको छलफल पूरा नभएको र त्यसपछि मात्र कार्यसूचीमा समावेश गरिने नेताहरूले बताएका छन्।
राजधानीमा २१ दिनसम्म आन्दोलन गरेका शिक्षकहरूसँग भएको सहमति अनुसार सरकारले असार १५ भित्र शिक्षा ऐन जारी गर्नुपर्ने प्रतिबद्धता जनाएको छ। त्यसैले शिक्षा विधेयकको पेश गर्ने समय आगामी बैठकहरूमा थपिने अपेक्षा गरिएको छ।