मानवसेवा आश्रम, वीरगञ्जले आफ्नो ८औं वार्षिकोत्सव मनाएको छ। २०७४ साल जेठ १५ गते, नारायणी अस्पतालबाट 'शंकर' नाम गरेका एक असहाय दाइलाई उद्धार गर्दै मानवसेवा आश्रम, वीरगञ्जको औपचारिक शुभारम्भ गरिएको थियो।
उक्त अवसरमा संस्थापक देवेश गुप्ता, तत्कालीन प्रमुख जिल्ला अधिकारी केशव प्रसाद घिमिरे, डा. दीपक शाक्य, मिनाक्षी गुप्ता, रहबर अन्सारी, उषा शाह, कनिका कौसिक, मायामितु न्यौपाने, मुकेश खेतान, कमल चौगाई, युवराज केसरी, आशिष श्रेष्ठ, रिशव अग्रवाल, संगीता शाक्य र अंशु कार्कीजस्ता समाजसेवीहरूको सक्रिय उपस्थितिमा आश्रम सञ्चालनमा आएको हो।

शुरूका पाँच वर्षसम्म आश्रम वीरगञ्ज–०९ (इन्डियन एम्बेसी पछाडि) एक भाडाको घरमा सञ्चालन गरिएको थियो। हाल आश्रम माननीय प्रदेश सांसद रमेश पटेलको पहलमा वीरगञ्ज–२५, श्रीसियामा अवस्थित वृद्धाश्रमको भवनमा सुन्दररूपमा सञ्चालनमा रहेको छ। साथै, वीरगञ्ज–१५, लक्ष्मणवामा वीरगञ्ज महानगरपालिकाले उपलब्ध गराएको १४ कठ्ठा जग्गामा आधुनिक सुविधा सम्पन्न भवन निर्माणको कार्य समेत प्रारम्भ भइसकेको छ। अनुमानित लागत करिब २० करोड रुपैयाँ रहेको सो भवन निर्माण कार्य तीव्रगतिमा अघि बढिरहेको छ।
मानवसेवा आश्रम विशुद्ध गैरनाफामूलक परोपकारी संस्था हो, जसले २०७३ साल श्रावण २ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा दर्ता भई संवत् २०६९ सालदेखि निरन्तर मानवसेवाको क्षेत्रमा क्रियाशील रहँदै आएको छ। खुला आकाशमुनि, सडक पेटी तथा सार्वजनिक स्थलहरूमा कष्टकर जीवन यापन गर्न बाध्य, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन तथा शारीरिक वा मानसिकरूपमा कमजोर व्यक्तिहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण तथा पारिवारिक पुनर्मिलन गराउँदै आएको आश्रमले जानकारी दिएको छ।
हालसम्म मानवसेवा आश्रमले देशभरका सातै प्रदेशका २१ जिल्लामा २७ वटा सेवा केन्द्रमार्फत परित्यक्त तथा सहयोगापेक्षी व्यक्तिहरूलाई सेवा प्रदान गर्दै आएको छ।
वीरगञ्ज शाखाको तथ्याङ्क अनुसार स्थापना कालदेखि हालसम्म २९२ जनाको उद्धार गरिएकोमा १२५ जनाको सफल पारिवारिक पुनर्मिलन गरिएको छ। ३६ जनाले आश्रममै शान्तिपूर्वक देहत्याग गरेका छन् भने ८४ जनाको सामुदायिक पुनर्स्थापना गरिएको छ। हाल सिरिसियास्थित आश्रममा ४७ जना महिला, पुरुष तथा बालबालिकाहरू आश्रित रहेका छन्।
संस्थापक देवेश गुप्ताका अनुसार धेरैजसोले आश्रमको खर्च कसरी चल्दछ भनी सोध्ने गर्दछन्। यसबारे उनले भने, “हामी गर्वका साथ भन्ने गर्छौं, मानवसेवा आश्रम वीरगञ्ज सम्पूर्ण वीरगञ्जवासीको पसिनाको कमाइले चलिरहेको संस्था हो। बिहान बेलुका मजदुरी गर्ने व्यक्तिदेखि उद्योगपति, व्यवसायीहरू सबैले सक्दो योगदान दिइरहनु भएको छ।”
आश्रमका तर्फबाट सम्पूर्ण वीरगञ्जवासीप्रति आठ वर्षसम्म माया, प्रेम र हौसला प्रदान गरेकोमा विशेष आभार व्यक्त गरिएको छ।