प्राकृति प्रकोप अथवा विपतलाई रोक्न सकिदैन । तर पूर्वतयारीले क्षति न्युनिकरण गर्न सकिन्छ । हामी कहाँ प्रत्येक वर्ष आउने बाढी पहिरोले धनजनको क्षति गरिरहेकै छ । मे महिनादेखि सेप्टेम्बरसम्म लगभग पाँच महिनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि मानिन्छ । नेपालमा वार्षिक वर्षाको करीब ८० प्रतिशत वर्षा मनसुनको समयमा हुने गर्छ । सरदर वर्षाको ९० देखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिकतम वर्षा भएको मानिन्छ । तराईमा प्रचण्ड गर्मी खेपी रहेकालाई यो मनसुनले राहतको सास फेर्ने अवसर प्रदान गर्छ । तर यसका साथसाथै वर्षात्संगै आउने बाढी पहिरोले त्रासको वातावरण सृजना गर्छ । कतिपय स्थानमा वर्षायाम शुरु हुना साथ स्थानीयको मनमा चिसो पस्छ । रातिको निन्द्रा हराम गर्ने गर्छ । तराईका जिल्लाहरुमा बर्षात्मा नदी गाउँमा पस्ने तथा शहरमा पानीको निकास नभएका कारण बस्तीहरु डुवान गर्ने गरेको देखिन्छ । तर यसलाई नियन्त्रण गर्ने योजनावद्ध तरिकाले अगाडी नढेको देखिन्छ । अहिले स्थानीय तह अधिकार सम्पन्न भएको छ । स्थानीयस्तरमा भएको समस्या समाधानका लागि अव केन्द्रिय सरकारको मुख ताक्ने दिन गएको छ । स्थानीय सरकार गठन भएको छ गाउँ गाउँमा जनप्रनिधिहरु निर्वाचित भएका छन् । तर खोइ पूर्वतयारी ?

आफ्नो स्थानीय तहमा राहत तथा उद्धारको काम गर्नका लागि एउटा डुगांसम्मको व्यवस्थापन देखिदैन । आखिर किन ध्यान नगएको होला ? यस्तो हो भने स्थानीय सरकारको भुमिका खोइ त ? पालिकास्तरमा विपत व्यवस्थापनको पूर्वतयारी खोइ ?
कुनै स्थानमा कुनै पनि किसिमको विपत आयो भने पहिलो रेस्पोन्स गर्ने भनेकै स्थानीय सरकारले हो । सवैभन्दा पहिला समुदाय नै त्यहाँ पुग्छ र सहयोग गर्नु पर्छ । तर हामी कहाँ सेना, प्रहरीको मुख ताक्ने चलन बढी छ । हामीलाई अरुले आएर सहयोग गर्नु भन्दा पनि समुदायले विपतको समयमा सहयोग गर्ने दक्ष जन शतिm तयार गर्नु पर्छ । समाजमा बसिसकेका चेतनशिल प्राणी भइकन पनि हामी कुनै पनि कुराहरुमा पुर्व तयारी गर्न सक्दैनौ । यो ठुलो विडम्बना हो । हामी मानवको सबैभन्दा ठुलो कमजोरी भनेको नै विपत्ति आइसकेपछि बल्ल तात्तिने, चेत आउने र चिन्ता, शोक इत्यादि गर्ने हो। प्रकृतिको नियम नै एक वर्षको अवधिमा कहिले जाडो हुन्छ, कहिले गर्मी हुन्छ, कहिले मौसम ठिक्क हुन्छ त कहिले पानी पर्छ । बाढी पहिरोको उच्च जोखिम हुन्छ । यी कुराहरु सबै मानिसहरुलाई थाहा छ । उनिहरुलाई जाडो कहिले शुरु हुन्छ ? गर्मी कहिले शुरु हुन्छ ? बर्खायाम कहिले सुरु हुन्छ ? यि सिजनमा जोखिमबाट बच्न के के उपायहरु अबलम्बन गर्न सकिएला भन्ने धेरथोरै हेक्का पनि छ । तर हामी नेपालीहरुको विचित्रको बानी छ यत्रो जानकारी पाइकन पनि जोखिमको भूमरीमा रुमल्लिन बाध्य छ तराईको अवस्था । यस्तो विपत्ति के आइपर्ला र भन्ने हेलचक्रयाँइका कारण जानाजान विपत्तिमा परिरहेको देखिन्छ ।
हाम्रा स्थानीय सरकारहरुको पनि यस तर्फ ध्यान किन जादैन ? किन हामी चुप बसेका छौं । अहिले बर्खाको सिजन सुरु हुन लागेको अवस्था छ । यो पानी पर्ने वा बर्खा लाग्ने कुन समयमा हो भन्ने कुरा हिमाल पहाड तराईका सबै जनतालाई थाहा छ । बर्खामा के के समस्या आइलाग्छन् भन्ने कुरा नागरिकलाई भन्दा धेरै त सरकारलाइ थाहा छ । तर पनि हरेक वर्ष पहिरोमा पुरिएर, बाढीले बगाएर, पुल भत्किएर, सडक भत्किएर धेरै नागरिकले ज्यान गुमाउनु परिरहेको छ । विपत व्यवस्था कसरी गर्ने ? बाढी पहिरोको जोखिमबाट कसरी जोगिने ? क्षति कसरी न्युनिकरण गर्ने ? यस्ता कुराहरुको बारेमा त बर्खा नलाग्नै नागरिकलाई जानकारी हुनुपर्ने हो । हामीकहाँ ठिक उल्टो परिपाटी छ । जव पहिरोले घरबारी बगाउँछ, मान्छेहरु पुर्छ, बाढीले तराई क्षेत्र जलमग्न हुन्छ अनि बल्ल नीति कार्यत्रम, कसरी क्षति कम गर्ने भन्ने विषयहरु उठ्न थाल्छन् । यी विषयहरु उठेर, छलफल भएर निष्कर्ष निस्कदासम्म धेरै घरहरु बगिसकेका हुन्छन्, । धेरै नागरिक मरिसकेका हुन्छन्, । तराईका घरहरु जलमग्न भएका हुन्छन् । हामी समुदायले विपतको सामना गर्न र रक्षाको लागि तयारी गर्नु पर्छ होइन भने प्रत्येक वर्ष झै ठूलो क्षति व्यहोर्नुको विकल्प छैन ।