सरसफाईसँग जोडिएको कारण खुल्ला दिसा–पिसामुक्त अभियान देशभरी नै चलाइएको थियो । तर पोष्ट ओडिएफका काम मात्र बाँकी रहेको वर्तमानका बीच जिल्लाका अधिकाँश सरकारी कार्यालयका शौचालय प्रयोग गर्ने लायक नभएका हुन् ।
महिला पुरुष दुवैले एउटै शौचालय प्रयोग गर्न पर्ने बाध्यकारी संरचना थप जटिल समस्या छ । असाध्य फोहोर शौचालय हुनुले पनि सेवाग्राही प्रति राज्यका जिम्मेवार निकाय गैर जिम्मेवार छन् भन्ने पनि प्रष्टिएको छ । अझ बढि भिडभाड हुने सरकारी कार्यालयका शौचालय प्रयोग गर्न सक्ने अवस्था नै नरहेको पाइएको छ । महिला सेवाग्राहीहरुको लागि त ती शौचालय प्रयोग गर्न कष्टकर रहेको उनीहरुको भनाइ छ । शौचालय प्रयोगकर्ता सेवाग्राहीको लागि सरकारी र गैर सरकारी कार्यालयले ध्यान नदिएको महिला सेवाग्राहीको गुनासो छ । न त पोष्ट ओडिएफ कार्य नै अगाडी बढाई स्तरीय शौचालय प्रयोगको वातावरण नै सृजना गरिएको छ न त स्वास्थ्यको लागि कुनै सतर्कता नै अपनाइएको छ उनीहरुले थप गुनासो गरे ।
अहिले प्रायः अधिकाँश सरकारी कार्यालयका शौचालयहरु रोगको घर बनेका छन् । त्यस्तै मध्ये पर्साको मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालय ‘लाइसेन्स’ जस्ता सेवाग्राहीको चाप हुने कार्यालयका सार्वजनिक शौचालयको अवस्था अत्याधिक रोग फैलाउने खालको रहेको सेवाग्राहीले दावी गरे । स्वास्थ्य, शिक्षा र खानेपानी तथा विजुलीबत्ती जस्ता आम मानिसको प्रत्यक्ष जीवनसँग सरोकार राख्ने कुराहरुमा स्थानीय सरकार र राज्यको जिम्मेवार पक्ष आफै अग्रसर हुनु पर्नेमा त्यो नदेखिएको पनि उनीहरुको तर्क छ ।
ठोरी गाउँपालिकामा आफूले किनेको जग्गा पास गराउन भनी वीरगन्जको मालपोत कार्यालय अएकी पर्साको ठोरीकी जमुना राना मगर पुरुषको लागि त प्रयोग गर्न नमिल्ने शौचालय महिलालाई प्रयोग गर्नै नसक्ने रहेको बताउँछिन् । पर्साका १४ पालिकाको जग्गा किनबेच हुँदा लिखत पास गर्ने जिल्लाको मालपोत कार्यालयमा हुन्छ । तर त्यहाँको शौचालय देख्दा दया लागेर आयो उनले भनिन् । सेवाग्राहीले जग्गा पास गर्दा राजस्व तिरेकै हुन्छौं । तर जावो शौचालय पनि प्रयोग गर्न नमिल्ने हुनु ज्यादै दुःखद् रहेको मालपोत कार्यलय पर्सामा भेटिएका अर्का ठोरी गाउँपालिका–२ का बुद्धि बहादुर गुरुङले पनि बताए । अझ महानगरका मेयरको पनि घरै छेउको मालपोत कार्यालयको शौचालयको यो हालत छ भने बाँकी जिल्लाका अरु सरकारी कार्यालयका शौचालयको अवस्था के होला ? उनले प्रतिप्रश्न गरे । पर्साको मात्र नभई मधेश प्रदेशकै एक मात्र महानगरपालिका भित्रका सरकारी कार्यालयको शौचायलेको यस्तो हालत देखिनु राम्रो संकेत नभएको उनको तर्क छ । जनताले सबैभन्दा बढी राजस्व तिर्ने ठाउँमा पुग्ने नागरिकले शौचालय प्रयोग गर्न यति कष्ट भोग्न बाध्य हुनु हुदैन थियो उनले बताए ।
अझ महिला र पुरुष भनेर छुट्याउने चलन पहिले नभएकोले आफ्नो कार्यालयमा अहिले त्यो सुविधा सेवाग्राहीलाई दिन नसकिएको सरकारी कार्यालयका प्रमुखहरुको भनाइ छ । मालपोतबाट उठेको राजस्व स्थानीय र प्रदेश तथा केन्द्र सरकारले उपयोग गर्ने भएकोले सो निर्माण पनि स्थानीय, प्रदेश तथा केन्द्र सरकारले नै गरिदिनु उचित हुने उनको तर्क छ । यता न्यायको प्रत्याभूत गराउने कार्यालय न्यायालयको शौचालयको अवस्था पनि चित्त बुझाउन सक्ने अवस्थाको छैन ।
उता पर्सामै रहेको यातायात व्यवस्था कार्यालय लाइसेन्स फाँट तर्फ पनि सेवाग्राहीको अत्याधिक चाप हुने ठाउँको शौचालय सेवाग्राहीका लागि टाउको दुखाइ हुने गरेको सिमराबाट सेवा लिन त्यहाँ पुगेकी बर्षा लिम्बुले बताइन् । एक दिनमा काम पनि सकिदैन । दिनभरी बस्नु पर्दा शौचालय प्रयोग नगरी हँदैन । तर त्यहाँको फोहोर र दूर्गन्धले शौचालय जान सक्ने अवस्था छैन । यातायात व्यवस्था कार्यालय पुगेका अर्का सेवा ग्राही विरगंज–१० का ३० बर्षीय राजन गुप्ताले पनि शौचालयको अवस्था पीडादायी रहेको गुनासो गरे । जसोतसो पुरुषहरु त नाक छोपेर प्रयोग गर्न बाध्य हुन्छन् नै तर महिलाहरुको लागी त सजाय नै हुने उनको तर्क छ ।
सरकारी कार्यालयहरु मध्ये एकै दिन एकडेड सय नागरिक सेवा लिन पुग्ने ठाउँका शौचालय कुनै गतिलो नहुनु ठूलो विडम्बना भएको सेवाग्राहीहरुको भनाइ छ । पुरुषभन्दा पनि महिलाहरुलाई त शौचालय प्रयोग गर्न साह्रै गाह्रो हुने गरेको सेवाग्राहीको भनाइ छ । सरकारी कार्यालय त के स्वास्थ्य चौकीहरुको समेत अवस्था नाजुक रहेको भेटिएको छ । विरगंज–१४ की २९ वर्षीय उर्मिला पटेल बिरामी छोरो लिएर स्वास्थ केन्द्रमा जाँदा त्यहाँ समेत शौचालयको अवस्था बिडम्वनापूर्ण भेटिएको बताइन् । आफ्नो छोरोलाई ज्वोरो आएर उपचार गर्न स्वास्थ कार्यालय आएको त शौचालय जाँदा छिर्न सकिन उनले दुखेसो गरिन् ।
एकै किसिमका पुराना शैलीका शौचालय पुरुष र महिलाले प्रयोग गर्दा महिलाहरु भने विभिन्न रोगबाट संक्रमित हुने गरेको स्त्री तथा प्रसुती रोग विशेषज्ञ तथा प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टरको संचालक डा.लक्ष्मी थापाले बताइन् । अति अव्यवस्थित सार्वजनिक शौचालय प्रयोगगर्दा पुरुषहरुभन्दा महिलाहरु बढि संक्रमित हुने गरेको उनको भनाइ छ । यो हुनुमा पुरुषहरुको पिसाब फेर्ने प्वालदेखि पिसाब थैलीको दुरी लामो हुनु र उठेर पिसाव फेर्ने गर्नाले उनीहरु कम संक्रमित हुने गरको उनको भनाइ छ । महिलाहरुमा भने पिसाब फेर्ने प्वालदेखि पिसाब थैलीको दुरी ४ से.मी. मात्र हुँदा संयुक्त शौचालयमा महिलाहरु बढि प्रताडित हुने गरेको डा थापाको तर्क छ ।
महिलाहरुले बसेर शौचालय प्रयोग गर्न पर्ने अवस्थाले गर्दा पनि महिलाहरुको यौन अंगमा इन्फेक्सन बढि हुने गरेको चिकित्सकहरुको भनाइ छ । अझ इन्फेक्सनको दर नै हेर्ने हो भने वृद्ध महिला, सानो बालबालिका र गर्भवती महिलाहरु अझ बढी प्रभावित हुने गरेको उनीहरुले बताए । आफूले गल्ती नगर्दा पनि अरुको कारण निर्दोश महिलाहरु बढि संक्रमित भएको डा थापाको तर्क छ । संयुक्त शौचालय प्रयोग गर्दा हुने बारम्बारको इन्फेक्सनले मृगौला खराब हुने, उपचारले मानसिक तनाब र आर्थिक बोझ समेत अनावश्यक हुने चिकित्सकहरुको भनाइ छ । महिलाहरुमा भएको सरुवा रोग तथा पुरुषमा भएको सरुवा रोगहरु शौचालय प्रयोगले नै एक अर्कामा सर्ने बढि सम्भावना हुने गरेको स्वास्थ्यकर्मीहरुले पनि दावी गरे । सम्भव भएसम्म महिला र पुरुषको शौचालय छुटाछुटै हुनुपर्ने उनीहरुको सुझाव छ । वीरगंज महानगरले यातायात व्यवस्था कार्यालयको लागि १ बिगाहा ६ कट्ठा जग्गा भेडियाहीमा उपलब्ध गराइसकेकोले त्यहाँ भवन निर्माण भएपछि भने यस्तो समस्या नहुने यातायात व्यवस्था कार्यालय लाइसेन्स फाँटले जनाएको छ । सिंहदरबारको अधिकार गाउँका सिंहहरुले लिएर बसे पनि अझै आम सर्वसाधारणले सार्वजनिक शौचालयमा स्वस्थ तरिकाले पिसाब फेर्न पाउने अधिकार पनि नभएको पाइएको हो ।