शान्ति, सहिष्णुता र मानवताको सन्देश बोकेर वीरगञ्जमा भगवान बुद्धको २६४९औं जन्म दिवस, २६१४औं बुद्धत्व प्राप्ति दिवस र २५६९औं महापरिनिर्वाण दिवसको त्रिसंयोगमा भव्य धार्मिक कार्यक्रम सम्पन्न गरिएको छ।
वीरगञ्ज बौद्ध समिति, वीरगञ्ज जेसीज तथा विभिन्न स्थानीय संघ–संस्थाहरूको संयुक्त आयोजनामा सम्पन्न यस विशेष कार्यक्रमले धार्मिक सहिष्णुता, मानवता र सामाजिक सद्भावको सन्देश फैलाएको छ। सोमबार बिहान ७ बजे माईस्थान मन्दिर परिसरबाट सुरु भएको प्रभातफेरी घण्टाघर, लिंकरोड, वसपार्क चौक हुँदै ४० फिटा रोड र कृष्ण प्रणामी मन्दिर मार्ग हुँदै भिस्वा बुद्ध विहारमा पुगेर समापन गरिएको थियो।
प्रभातफेरीमा गौतम माध्यमिक विद्यालयलगायत वीरगञ्जका विभिन्न शैक्षिक संस्था, धार्मिक संघ–संस्थाका प्रतिनिधिहरू, बौद्ध अनुयायीहरू तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रह्यो।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्य, वीरगञ्ज जेसीजका पदाधिकारीहरू लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले भगवान बुद्धको करुणा, अहिंसा र शान्तिका शिक्षालाई आत्मसात गर्दै समाजमा स्थायी शान्ति र सद्भाव कायम गर्न सबैलाई आग्रह गरे।
कार्यक्रम वीरगञ्ज बौद्ध समितिका अध्यक्ष प्रा.डा. दीपक शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो। भिस्वा बुद्ध विहार तथा अन्य गुम्बाहरूमा लामागुरुहरूले विशेष पूजा, मन्त्रपाठ र ध्यान कार्यक्रम सञ्चालन गरे। साथै, बौद्ध समितिद्वारा दिनभर सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य परीक्षण शिविरबाट स्थानीय नागरिकहरूले प्रत्यक्ष लाभ उठाए।