वीरगन्ज महानगरपालिकाले बुधबार होटल व्यवसायीसँग विशेष छलफल गर्दै व्यवसाय दर्ता, कर प्रणाली, भवन नक्सा पास तथा पर्यटकीय प्रवद्र्धनजस्ता विषयमा गम्भीर संवाद सुरु गरेको छ। छलफलमा महानगर प्रमुख राजेशमान सिंहले होटल व्यवसायीहरूलाई अनिवार्यरूपमा व्यवसाय दर्ता गर्न आह्वान गर्दै, कर प्रणालीलाई सरल बनाउने र व्यवसायमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रमुख सिंहले करको दायरा विस्तार गरिए पनि करदर यथोचित बनाइने बताउँदै भने, “व्यवसायीलाई थप बोझ होइन, सहजता दिने नीति लिएका छौं।” उनले ‘एकद्वार सेवा प्रणाली’ ल्याउने तयारी भइरहेको जानकारी दिँदै निजी क्षेत्रको सुझाव आगामी नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेटिने बताए।
छलफलमा होटल व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले दर्ता प्रक्रिया सहज र छरितो बनाउन आग्रह गर्दै होटल व्यवसायी कानुनी ढाँचामा सञ्चालन गर्न तयार रहेको बताए। उनले कल्चरल कार्यक्रम, मेलामहोत्सव र पर्यटकीय गन्तव्य प्रवद्र्धनले वीरगन्जको आर्थिक गति तीव्र बनाउने तर्क गरे।
त्यसैगरी व्यवसायी माधव बस्नेतले कर बुझ्ने तरिका, नक्सा पास र दर्ता प्रक्रियाको जटिलता हटाउनुपर्ने आवश्यकतामाथि जोड दिएका थिए।
छलफलमा आर्थिक विकास महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, राजश्व शाखाका नवराज थापा, नक्सा शाखा प्रमुख गौरव झा लगायत होटल व्यवसायीहरूको उपस्थिति रहेको थियो।