सरकारी अभियानअनुसार उद्यमशीलता प्रवर्द्धन र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सञ्चालित स्टार्टअप कर्जा योजनामा पर्सा जिल्लाबाट १० वटा परियोजना छनोट भएका छन्, जसले जिल्लामा युवा उद्यमशीलताको नयाँ सम्भावना देखाएको छ।
चालु आर्थिक वर्ष २०८०/८१ का लागि स्टार्टअप कर्जामा छनोट भएका परियोजनाहरूमा वीरगंज फुड्स, नन्दु एकीकृत कृषि फर्म, पर्सा बाख्रापालन फर्म, यसोदा ब्याग तथा रेडिमेड उद्योग, रणवीर प्लेट उद्योग, एड्स बई मेडिया प्रा.लि., श्रेष्ठ एकीकृत कृषि फर्म, श्री विराट एकीकृत कृषि फर्म, करसिभ क्रिएशन र महादेव एण्ड पार्वती कृषि फर्म पर्छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमार्फत देशभर ६६१ उद्यमी स्टार्टअप कर्जाका लागि सिफारिस भएको जानकारी गराएका थिए।
५ हजार १५८ उद्यमीले आवेदन दिएकोमा १ हजार ३१४ जनाले आफ्नो परियोजना प्रस्तुत गरेका थिए, जसबाट उत्कृष्ट ठहरिएका ६६१ परियोजना छनोट भएका हुन्।
छनोटमा परेका उद्यमीहरूले अधिकतम २५ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्नेछन्। प्रधानमन्त्री ओलीले यस कर्जाले उद्यमशीलता प्रवर्द्धन गर्दै नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।