भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत फेला परेकी नेपाली विद्यार्थी प्रिसा साहको घटनाबारे भारतसँग उच्चस्तरीय कुटनीतिक संवाद गर्न सभामुख देवराज घिमिरेले सरकारलाई निर्देशन (रुलिङ) दिएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले आकस्मिक समय लिएर यो विषय उठाएपछि सभामुख घिमिरेले यस्तो निर्देशन दिएका हुन्। उनले घटनाले सदनको गम्भीर ध्यानाकर्षण गराएको स्पष्ट गर्दै सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरेका हुन्।
प्रिसा साह झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। घटनाको कारण अहिलेसम्म स्पष्ट नभएसँगै यसले गम्भीर चासो उत्पन्न गरेको छ।
सभामुख घिमिरेले भने, "उज्यालो भविष्यको सपना बोकेर विदेश अध्ययनका लागि गएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्यु राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न हो।"
उनले सरकारलाई गहिरो चासो देखाउँदै भारत सरकारसँग उच्च तहमा संवाद गर्न, घटनाको सत्यतथ्य पत्ता लगाउन र पीडित परिवारलाई न्यायिक सहायता उपलब्ध गराउन निर्देशन दिएका छन्।
त्यसैगरी, विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न नीतिगत पहल आवश्यक भएको उल्लेख गर्दै, सभामुख घिमिरेले सोबारे ठोस नीति तथा कार्ययोजना ल्याउन सरकारलाई अपिल गरेका छन्।
नेपाल सरकारले यस विषयमा औपचारिक प्रतिक्रिया दिने वा अनुसन्धानमा संलग्न हुनेबारे जानकारी आउन बाँकी छ।