बिरगञ्जमा बिहे, ब्रतबन्ध, पार्टी तथा कुनै पनि सार्वजनिक समारोहमा आतिशबाजी र पटाका फोड्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा बुधबार बसेको सरोकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालयको सभाहलमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकमा होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तसहित पार्टी प्यालेसका सञ्चालक, प्रहरी प्रशासन, सशस्त्र प्रहरी लगायतको उपस्थिति रहेको थियो।
बैठकमा प्रमुख जिल्ला अधिकारी अर्यालले ध्वनि प्रदूषण नियन्त्रणका लागि डिजे प्रयोगलाई क्रमशः निरुत्साहित गर्दै जाने सहमति भएको जानकारी दिए। उनका अनुसार हाललाई राति १० बजेपछि डिजे प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ भने चाँडै अन्य सरोकारवालासँग छलफल गरी पर्सा जिल्लाभर डिजेमा पूर्ण प्रतिबन्ध लगाउने तयारी भइरहेको छ।
जिल्ला प्रहरी प्रमुख गौतम मिश्रले बैठकमा भएको सहमतिलाई सबैले पालना गर्नुपर्ने बताए। नियम उल्लङ्घन गर्नेलाई कानुनी कारबाही गरिने उनले स्पष्ट पारे। त्यस्तै, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले सिमाबाट अवैध रूपमा भित्रिने डिजे उपकरण, पटाका र आतिशबाजीजन्य सामग्रीमा कडाइका साथ जाँच गरिने बताए।
होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले पार्टी प्यालेसहरू प्रायः अग्रिम बुकिङ हुने भएकाले हाललाई तत्काल डिजे पूर्ण रूपमा बन्द गर्न कठिन भएको बताए। उनले हाललाई पार्टी प्यालेस भित्र राति १० बजेपछि डिजे सञ्चालनमा प्रतिबन्ध लागू गर्ने सहमति भएको जानकारी दिए।
बैठकमा संघका महासचिव माधव बस्नेत, आन्तरिक राजस्व कार्यालय पर्साका कर अधिकृत, पर्यटन कार्यालयका प्रमुख लगायत विभिन्न पार्टी प्यालेसका सञ्चालकहरूको पनि उपस्थिति रहेको थियो।