काठमाडौं कालिकास्थानमा जन्मिएकी लिली थापा एकल महिलाको क्षेत्रमा काम गर्दै आएकी महिला अधिकारकर्मी हुन् । लामो समयदेखि मानव अधिकारका लागि एकल महिला समूहकी अध्यक्ष रहेकी थापा त्यतिबेला पाँच सय रुपैंयाको कोठा भाडामा लिएर कार्यालय सञ्चालन गरेको बताउँछिन् । अहिले एउटा ठूलो घर भाडामा लिएर कार्यालय सञ्चालन भईहेको उनले बताईन । त्यतिबेला सातजना महिला मिलेर संस्था दर्ता गर्न पनि निकै गाह«ो परेको थियो । अहिले एक लाखभन्दा बढी महिला हाम्रो समूहमा आबद्ध रहेको उनको तर्क छ ।

जीवनको आधा यात्रामै जीवनसाथी गुमाएका ती एकल महिलालाई हाम्रो समाजमा हिँड्न, बोल्न, लाउन, खान सबै–सबै कुरामा भिन्नै आचारसंहिता लगाइएको थियो । आर्थिक हिसाबले धेरैजसो परनिर्भर महिला थिए । त्यतिबेलाका महिला धेरैजसो पुरुषमै निर्भर हुन्थे । त्यसमाथि पनि एकल महिलाको आर्थिक र सामाजिक अवस्था अझै धेरै दयनीय रहेको कुरा बिगत सम्झ्दै भनिन् । त्यसो त त्यतिबेला पनि केही त्यस्ता संघ–संस्था क्रियाशील थिए, जसले महिला हकहितका लागि आवाज उठाउँथे । तै पनि त्यस्ता समूहमा एकल महिलाका लागि आवाज उठाउनु भनेको असम्भव नै थियो । किनभने एकल महिलाका लागि बनाइएका धेरैजसो नीति, नियम, धर्म र संस्कारसँग जोडिएका थिए । त्यस्ता संघ–संस्थामा क्रियाशील हुने धर्मका कट्टर समर्थक थिए ।
श्रीमान् बित्नुभन्दा पहिला लिली थापालाई बिजुली र धाराको बिल तिर्नुपर्छ भन्ने पनि थाहा थिएन । घरमा आएका एकजना पाहुनाले ‘यो घरको पानी र बिजुलीको बिल कति उठ्छ ?’ सोधेपछि बल्ल उनले थाहा पाइन् । भन्छिन ‘बुबा आर्मीमा हुनुहुन्थ्यो । ब्यारेकमै हुर्किएँ म । आर्मीका डाक्टरसँग बिहे भयो । उहाँको पोस्टिङ जता–जता हुन्थ्यो, त्यता–त्यता गइन्थ्यो ।
शान्ति सेनाको लागि इराक गएका उनका श्रीमान् त्यहाँबाट फर्केनन् । उनको इराकमै निधन भयो । त्यतिबेला लिली २९ वर्षकी थिइन् । तीन छोरा अतुप, अनुल र अमुन साथमा थिए । ‘श्रीमान् बित्दा जेठो १०, माइलो नौ र कान्छो तीन वर्षको थियो,’ उनी भन्छिन् । त्यो बेला लिली एउटा स्कुल चलाउँथिन् । यसपछि आफ्ना संघर्षका दिन सुरु भएको उनी बताउँछिन् । ‘मेरो श्रीमान् जेठो छोरा हुनुुहुन्थ्यो । उहाँमुनि दुईजना भाइ थिए,’ उनी भन्छिन, ‘श्रीमानको नामको सम्पत्ति आफ्नो नाममा ल्याउन निकै संघर्ष गरेँ, ‘भर्खरकी छे, सम्पत्ति त्यसको नाममा गरे पोइल जान्छे’ भन्ने पनि थिए त्यतिबेला ।
श्रीमान् नभएको भनेर सबैले आफूलाई घेरा हाल्न थालेपछि आफू एकदमै आश्रित भएको अनुभव गर्न थालेको लिली बताउँछिन् । तर, घेरामा बाँधिन उनलाई असह्य भयो । ‘विशालनगरमा जग्गा थियो, एक्लैले आँट गरेर घर बनाएँ,’ उनी भन्छिन ‘झ्यालै नहालेको घरमा सरेँ । सबैले ‘एक्लै बस्नुु हुँदैन’ भन्थे, छोराछोरीको भविष्यका लागि लड्न अगाडि बढेँ, पछाडि कहिल्यै हटिनँ, समाजसँग कहिल्यै डराइनँ । जिन्दगीलाई आफूले चाहेको बाटोमा डो¥याउन हिम्मत गरेँ । हिम्मत नै सब थोक हो । उनले समाजशास्त्रमा स्नातकोत्तर गरिन् । श्रीमान् बितेको चार वर्षपछि छात्रवृत्तिमा ‘वुमन स्टडिज’ पढ्नका लागि स्विडेन गइन् । दुई छोरालाई होस्टेलमा राखेँ, सानो छोरालाई माइतीमा आमासँग छाडेर गएँ, बच्चाहरूलाई छाडेर जाँदा ‘होम सिक’ हुन्थेँ, तर ‘मैले पढ्नुपर्छ’ भन्ने लाग्थ्यो, मेहनत गरेर पढेँ र प्रथम पनि भएँ,’ उनी भन्छिन् ।
नेपाल फर्केपछि लिली आफ्नो करिअर बनाउन तिर लागिन् । पहिलाको स्कुल छँदै थियो । त्यहीँबाट उनले नयाँ कामको सुरुवात गरिन् । ‘आफूजस्तै एकल महिलाका लागि काम गर्नुपर्छ भन्ने लाग्यो,’ उनी भन्छिन, ‘साताको एक दिन स्कुलमा एकल महिला भेला पार्थें । उनीहरूसँग दुःखसुख बाँड्थेँ । उनीहरूका कुरा सुनेपछि म मात्रै दुःखी होइन अरू महिला पनि दुःखी र पीडित रैछन, मैले आफ्ना लागि मात्र नभई अरूका लागि पनि केही गर्नुपर्छ भन्ने लाग्यो । यही सोचले लिलीलाई एकल महिला समूहको स्थापना गर्न प्रेरित ग¥यो । अहिले यस संस्थामा देशभरिका हजारौँ एकल महिला आबद्ध छन् । एकल महिलामाथि समाजले बढी चियोचर्चो गर्ने लिलीको अनुभव छ ।
कामको सिलसिलामा बिहानै घरबाट हिँड्थेँ, कहिलेकाहीँ बेलुका मात्र घर पुग्थेँ,’ उनी भन्छिन, ‘‘भर्खरकी छ ढिलासम्म कहाँ गएर आउँछ ?’ भनेर धेरैले चासो राख्थे । यस्ता कुरा सुन्दा साह्रै नरमाइलो लाग्थ्यो, तर बच्चाको अगाडि रोएर मैले कहिल्यै आफ्नो दुःख देखाइनँ । ‘तिमीहरूका लागि आमाबुबा मै हुँ’ भनेर देखाउन कठोर बनेँ । उनी भन्छिन ‘सिंगो परिवारलाई सँगै लैजानु सानोतिनो कुरा होइन, त्यसका लागि महिला आर्थिक रूपमा मात्र नभई मानसिक रूपमा पनि बलियो हुनुपर्छ ।’मानव अधिकारका लागि महिला, एकल महिला समूहका संस्थापक अध्यक्ष तथा अधिकारकर्मी लिली थापा भन्छिन ।
समाजले विधवा महिलालाई नियन्त्रण गर्न अनेक विधि र प्रथा तयार गरेको छ । त्यसैले आज पनि लाखौँ दिदीबहिनी यो कुरीतिको मारमा रहेको तितो सत्य उनले पोखिन् । आमाको नामबाट नागरिकता दिने व्यवस्था एकल महिलाका लागि हो । आमाको नामबाट नागरिकता दिने कुरा सुन्दा खुसी लाग्यो, तर घुमाएर बुबा पनि चाहिने कुरा लेखिएकाले एकल महिलाको पक्षमा देखिएन । भन्ने बारेमा चिन्ता रहिरहेको उनले बताईन ।
आत्म सम्मान साथ बाँच्न सक्ने बहादुर छोरीका लागि अझै हामीले केही गर्नु छ । आजका सबै आमाले छोरीलाई त्यही मानसिकतासाथ हुर्काउनु जरुरी छ । श्रीमानले पनि मेरो श्रीमती म विना पनि आत्मसम्मानपूर्ण जीवन बाँच्न सकोस् भनेर आजैदेखि श्रीमतीलाई मानसिक रूपमा तयार पार्न आवश्यक छ । कुनै पनि बेला एक्लै हुन सकिन्छ र एक्लै पनि जीवन चलाउनुपर्छ भनेर आजैबाट सबै छोरीले सोच्न थालून् भन्ने मेरो सल्लाह छ । कलेजका कोर्समा पनि विधवा विषयमा पाठ्यक्रम बनाएर पढाउन सकिन्छ । विधवा हुनु भनेको कमजोर हुनु होइन वा एउटी महिलाका लागि उसको जीवनको अन्त्य हुनु होइन । कुनै पनि बेला कोही पनि स्वास्नीमान्छे विधवा हुन सक्छे, उसको सहयात्री कतै बीचबाटोमा अलप हुन सक्छ । त्यसैले सबै स्वास्नीमान्छे आउन सक्ने सम्भावित अप्ठेरा चुनौती डटेर मुकाविला गर्न सक्ने गरी तयार होऊन भन्ने सल्लाह सबैलाइ दिन चाहन्छु भन्छिन थापा ।
समाज रातारात परिवर्तन हुन सक्दैन । ८० प्रतिशत एकल महिला अझै निरक्षर छन् । उनीहरू बाँच्ने कसरी भन्ने ठूलो चुनौती छ । द्धन्दकालमा कतिधेरै जवान युवतीहरू एकल भएका छन् । भूकम्पले झन्डै ५० हजार जति महिलालाई विधवा बनाइदिएको छ । तिनीहरूको विकराल जीवन हाम्रा अगाडि छ । उनीहरूलाई आत्मनिर्भर भएर बाँच्न सक्ने कसरी बनाउने यो चुनौती हाम्रोसामु छ । तिनका सवाललाई नीति निर्माण तहमा कसरी पुर्याउने र तिनीहरूको पनि भौतिक उपस्थितिको सुनिश्चितता कसरी माथिल्लो तहमा पुर्याउने भन्ने चुनौती पनि हाम्रो सामु छ ।
हामीले केही त गरेका छौं तर अझै धेरै काम गर्न बाँकी छ । अरूमा आश्रित हुनबाट कसरी बच्ने ? भनेर आजैबाट सोच्न विवाहित महिलालाई मेरो अनुरोध छ । आमा बुवालाई पनि मेरो आग्रह छ । आफ्ना छोराछोरीलाई आत्म निर्भर हुने र विश्लेषण गर्न सक्ने कसरी बनाउने भनेर आजैबाट लाग्नु पर्छ ।