१. मारवाडी समुदायको महिला राजनीतिकमा आकर्याण हुनुको कारण के हो ?
पश्चिम बंगालको जल्पाइगुडीबाट विवाह भएर वीरगन्जमा आएपछि घरमा नै बसेर केही काम गर्ने ईच्छा थियो । वीरगंजमा ससुराको पिसान मिल थियो । कन्या मा.वि.को प्रधानाध्यापक मञ्जु सिंहले मैले लेखेको देखेर कति पढेको छौं भनेर सोध्नु भयो । तिमी टिचर बन्छौं भनेर सोध्नु भयो । मलाई पनि काम गर्ने ठूलो ईच्छा थियो । घरबाट पढाउन जान अनुमति पाइन । चुप लागेर घरमा नै बसे । बच्चाहरुको लालन पालन गर्दै समय बित्यो । हिन्दुस्थान पत्रिका सधै पढ्थे । साथीहरुसंग, घरमा चित्त नबुझेको कुरामा छलफल गर्थे । भारतमाभन्दा पनि नेपालमा कमी भएका कुराहरु सधै औल्याउने गर्थे । बजार जाँदा, पसलमा बस्दा, घरमा काम गर्ने मानिससंग पनि नेपाली बोल्दा बोल्दै नेपाली बोल्न सिकें । शिवा हस्पिटलका डा. मधु आचार्यसंग भारतका नेताहरुले बोलेका कुराहरुमा सुनाउथे । कहाँबाट यस्ता कुराको जानकारी पायौं भनेर सोध्नु भयो । पत्रिका पढेर जानकारी पाएको हो भने । डा. मधु आचार्यको सुझाब अनुसार नेकपा एमाले पार्टीमा सदस्यता लिए । मैले गरिब, पिछडिएका वर्गका महिलाहरु प्रति सहयोग गर्दै आएको हुनाले एमाले पार्टीमा प्रवेश भए । मैले सुरुवात कालदेखि आजसम्म एउटै पार्टीमा बसेर राजनीति गरेर आज यो स्थानसम्म आइपुगेको हो ।
२.राजनीतिकमा प्रवेश गरेपछि परिवारबाट कत्तिको सहयोग पाउनु भयो ?
सुरुमा त कसैबाट सहयोग पाइन । मधेशका महिलाहरुलाई सहयोग गर्ने पुरुषहरु ५ प्रतिशतमा भेटिन्छ । नत्र भने अरुले पहिला सहयोग गरेको पाइदैन । कसैको पनि श्रीमान वा घर परिवारले श्रीमती, बुहारी घर बाहिर गएर काम गरोस्, नाम कमाओस् भन्ने चाहँदैनन् । राजनीतिक क्षेत्रमा लाग्ने महिलाहरुको लागि त सहयोग गर्ने परिवार धेरै कम थिए । अहिले पढेर महिलाहरु पनि सक्षम भएका छन् । जनचेतना पनि फैलिसकेको छ । महिलाहरुकोलागि सबै क्षेत्रमा आरक्षण कोटा पनि निर्धारण गरिएको छ । पहिला महिलालाई राजनीतिमा आउन धेरै गाह्रो थियो । मारवाडी समुदायको मानिस राजनीतिकमा जाने धेरै कम थिए । पहिला सजाय दिने भएकोले घरको मानिस पीडित हुन्छ कि भन्ने डर थियो । छरछिमेकीले ससुरालाई तपाईको बुहारी राजनीतिकमा लागेकी छिन् । अब तपाईको घरमा पनि बम पड्किन्छ । डर हुन्छ यस्तो काम राम्रो होइन भनेर भड्काउने काम गर्थे । मैले घरमा सम्झाउथे, त्यस्तो बम पड्काउने कोही आउन सक्दैन । डराउनु पर्दैन भन्थे । मैले पनि साहस गरे । त्यस्तो किसिमको केही भयो भने सामना गर्छु । मेरो श्रीमानले नै मेरो फोन नम्बर भएको डायरी सबै च्यातेर फ्यालिदिएका थिए । त्यो बेला मोबाइल थिएन । पार्टीका नेताहरुसंग सम्पर्क होस् । पार्टीका महिला दिदीबहिनीहरुसंग सम्पर्क होस् । सबैलाई बोलाएर कार्यक्रम गरेर एकजुट गराउन सकौं भन्ने उद्देश्यले आफ्नो कमाइले नै लैण्ड लाइन फोन जडान गरेको थिए । महिलाले कुनै पनि काममा गर्छु भन्ने सोच राखेमा अगाडी बढ्न सक्छ । म आफ्नो घरको काम सकाएर पार्टीको बैठकमा जाने, संगठन बिस्तार गर्ने, महिलाहरुको हकहितकोलागि वकालत गर्ने, महिलाहरुको समस्याहरु लिएर सम्बन्धित निकायमा लिएर जाने काम गर्थे ।
३. प्रदेश संसदमा बसेर काम गर्न कत्तिको सहज छ ?
कुनै पनि पदमा बसेर काम गर्न समस्या त हुन्छ । म पर्सा जिल्लाको प्रतिनिधित्व गरेर गएको हो । मधेश प्रदेश संसदमा काम गर्न महिलाहरुलाई खासै समस्या छैन । तर कसै कसैमा भने समानुपातिकबाट आएको भनेर होच्याएर बोल्ने प्रवृतिका हुन्छ । कुनै पनि संसद समानुपातिकबाट पुरै भोट पाएपछि मात्र संसद बनेको हुन्छ । जबसम्म भोट आउदैन पार्टीले कुर्सी उठाएर दिदैन । अहिले निर्वाचन आयोगमा पहिला नै दर्ता गर्नुपर्छ । जसको जुन क्षेत्रबाट जति भोट आउँछ । त्यति नै हुने हो । केन्द्रमा होस् वा प्रदेशमा होस् कही पनि महिलालाई हेप्ने गरिएको छैन मेरो पार्टीमा ।
४. मधेशका महिलाको उत्थानकोलागि कस्ता नीति ल्याउँदै हुनुहुन्छ ?
महिला तथा बालबालिका सम्बन्धि संरक्षण एउटा विधेयक पास गरिसकेका छौं । महिला बालबालिका संरक्षण विधेयक बनेको छ । महिला खेलाडीहरुलाई प्रोत्साहन गर्नकालागि समिति बनाउने निणर्य गरेका छौं । बालिका संरक्षणमा जुन बालिकाको घर छैन । आमाबुबा नभएको र नागरिकता नभएको बालिकाहरुको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले गर्ने छ । महिलाहरुलाई सम्मान दिनुपर्छ । दाइजो प्रथाको कारण हत्या गर्ने, रोजगारीकोलागि विदेश लगेर बेच्ने त्यस्ता मानिसहरुलाई छानबिन गरेर कडाभन्दा कडा सजाय दिनु पर्छ भनेर सदनमा माग राखेका छौं । यदि दोषीलाई छुट दियो भने आउने भोलीको दिनमा पनि अन्य घट्नाहरु गर्न सक्छन् । छोरा भन्दा पनि छोरीलाई पढाइमा जोड दिनुपर्छ । छोरी शिक्षित भयो भने उनी माथि भएको अन्यायको विरुद्ध आवाज उठाउन सक्छिन् । महिलाको हत्या हुने क्रम रोकिन्छ ।
५.मधेशमा दाइजो प्रथा हटाउन केही पहल गर्नुभएको छ ?
हामीले दाइजो प्रथा हटाउन सडक नाटक जस्ता कार्यक्रम धेरै वर्षदेखि गरिसकेका छौं । हामीले जति कुरा गरे पनि अभिभावकहरुले मान्दैनन् । जसले पनि दाइजो लिन्छ त्यसको प्रमाण भएमा त्यो मानिसलाई कार्वाही हुन्छ । कत्तिको गोपनीयता हुन्छ । हामी पटक पटक आवाज उठाइरहेका छौं । हामी एउटा छोरी दिएका हुन्छौं । घरको शोभा बनाउन, घर चलाउनकोलागि तर परिवारको सबै सदस्य मिलेर यातना दिने, हत्या गर्ने गरेका छौं । हरेक अभिभावकहरुले छोराभन्दा छोरीलाई बढी पढाउनु पर्छ । सरकारसंग पनि कक्षा १० सम्म मात्र होइन । डिग्री गर्न पनि छोरीहरुलाई निःशुल्क गर्नुपर्छ । अन्य देशमा जस्तै छोरी १० कक्षा पढ्दा पाउने शिक्षामा सुविधा, १२ कक्षा पढ्दा पाउने सुविधा, स्ताहतक र स्नातकोत्तर गर्दा दिने सुविधा अलग–अलग दिएमा छोरीहरुलाई राम्रो पढ्ने अवसर पाउथे । धनी घरको परिवार छोरी मात्र पढ्नको लागि विदेश गइरहेका छन् । गरिब परिवारको छोरीहरुले पनि विदेश गएर पढ्न सक्ने वातावरण सरकारले बनाउनु पर्छ ।
६. महिला संसदले उठाएका एजेन्टाहरु प्रदेश सरकारले कत्तिको सुनुवाई गर्छ ?
हामीले उठाएका मुद्दाहरुको सम्बोधन तुरुन्त गर्न सकेको छैन । बिस्तारै भएरहेको छ । धेरै कुरा भाषणमा बोल्छौं । त्यो कुराहरु टिपोट गरिरहेका छन् । धेरै बच्चाहरु लागु पदार्थको दुव्र्यसनमा गइरहेका छन् । मधेश प्रदेश खुला सिमाना भएकोले सुरक्षा निकाय कडा गर्न सरकारले ध्यान दिनुपर्छ । यि विषयहरु पनि आवाज उठाएका छौं ।
७. राजनीतिकमा भएका महिला दिदीबहिनीहरुलाई के भन्न चाहनुहुन्छ ?
कुनै पनि काम गर्न डराउनु पर्दैन । एकै पटक कसैले पनि कुर्सी पाउदैन । पद नपाए पार्टी नै छोड्ने प्रवृति धेरै छ । त्यो स्वार्थी भावना भयो । यस्ता व्यक्तिले जनताको सेवा गर्दैनन् । मैले पनि ३ पटक पार्टीबाट साथ पाइन । २०७९ मा पार्टीबाट समर्थन पाए । तर पनि मैले पार्टी छाडेर गइन । कुनै पनि ठाउँमा एक भएर बस्नु एकदिन अवश्य सफल हुन्छ । महिलाहरुलागि पार्टी छाडेर अर्को तिर जाउँ त्यो पनि राम्रो हुदैन । समाजमा राम्रो पहिचान बनाउनकोलागि आफ्नो ठाउँमा बसेर पहिचान बनाउदै जानुपर्छ । आत्मविश्वास राख्नुपर्छ । मलाई धेरैले भन्थे । तपाइको पार्टीले सासंद बनाएन पार्टी छाडिदिनुस् भन्ने गर्थे । म पदकोलागि पार्टीमा लागेको होइन । जनताको सेवा गर्न पार्टीमा लागेको हो । तर पछि गएर कुर्सी पनि चाहिन्छ । जति काम गछौं । आफ्नो पनि पहिचान हुनुपर्छ । आज म मधेश प्रदेशको संसद भएकोले धेरैले चिनिरहेका छन् । रोष्टममा बोलिरहेको छु । कार्यक्रम लाइभ दिइहेको छ । सबैले हेरिरहेका छन् । यसकोलागि मनमा खुशी लाग्छ । एउटै पार्टीमा बस्दा नै आज यो परिणाम पाएको छु । कुनै पनि संगठनमा मनले लाग्नु पर्छ ।