१) व्यूटिसियन पेशाा तर्फ आकर्षण कसरी हुनु भयो ?
सुरुमा मैले सिलाई तथा बुटिकको काम सिके । तर मलाई त्यसमा खासै ईच्छा भएन । एस.एल.सी पास गरेपछि सबैले साथीहरुमा कुनै सीप सिक्नु पर्छ भन्ने सोच थियो । पछि व्यूटिसियन तालिम सिक्ने इच्छा भयो । मैले व्यूटिसियन तालिम सिके । विवाह भएर वीरगंजमा आएपछि नगरपालिकाबाट दिएको थप तालिम सिके । सामुदायिकले संचालन गरेको व्यूटिसियन तालिम पनि पुनः सिके । काठ्माण्डौंमा ३ महिना बसेर एडभान्स कोर्ष गरें । अनि दक्ष भएर वीरगंजको माईस्थानमा करिश्मा व्यूटिपार्लर संचालन गरेर पार्लरको सुरुवात गरेको हुँ ।
२) यो पेशामा सकृय हुँदा परिवारिक साथ कत्तिको पाउनु भएको छ ?
परिवारको एक्ली छोरी भए पनि मैले इच्छा लागेको सीप सिक्न सकें । विवाह अगाडी नै सीप सिक्नुपर्छ भन्ने सोचले केही सिक्ने प्रयास गरेकै थिए । विवाहपछि वीरगंज आएर थप व्यूटिसियन सम्बन्धी तालिम लिएर अझ अनुभव बटुल्ने अवसर मिल्यो । मेरो घर परिवार सबै सदस्यको माया र सहयोग पाएकै छु । त्यसैले त अहिलेको ठाउँसम्म पुग्न सकेको छु ।
३) अहिले अंगाली रहेको पेशाबाट सन्तुष्टि कत्तिको मिलेको छ ?
२० वर्षदेखि यो पेशामा लागेर काम गरेको छु । मैले पार्लर मात्र संचालन गरेको होइन । विभिन्न संघ–संस्थामा आबद्ध भएर तालिम पनि दिएको छु । म व्यूटिसियन पेशाबाट अत्यन्तै सन्तुष्ट छु । सिटीभिटीबाट संचालन गरी र आफ्नो नीजिस्तरमा पनि धेरै बहिनीहरुलाई व्यूटिसियन तालिम दिएर सक्षम बनाएको छृु । अहिले वीरगंज बजारमा र बाहिर पनि धेरै जनाले पार्लर संचालन गरेर बसेका छन् । उनीहरुलाई देख्दा पनि धेरै खुशी लाग्छ ।
४) यो व्यवसायबाट अनुपातमा कतिजति मासिक आम्दानी हुँदो रहेछ ?
व्यूटिसियन पेशाबाट यति नै कमाउछु भन्ने हुदैन । यो कुनै दिन ३० हजार पनि हुन सक्छ । कहिले २ हजार पनि हुन्छ । कहिले ५ सय पनि हुन सक्छ । तर हामीले जे सुकै गरेर भए पनि महिनामा मोटामोटी १ लाख रुपैयाँ आर्जन गरेका हुन्छौं । मेरो पार्लरमा २ जनालाई रोजगारी पनि दिएको छु । पारिश्रमिक नलिई सिक्नका लागि काम गर्ने पनि मेरो पार्लरमा अरु बहिनीहरु पनि छन् । काम बढि भएको धेरैका अनुपातमा उनीहरुलाई पनि आफ्नो मनले केही पारिश्रमिक दिने गरेको छु ।
५) व्यूटिसियन सीप अहिलेसम्म कति जनालाई सिकाउनु भएको छ ?
अहिलेसम्म २ हजारभन्दा बढिलाई नै यो सीप सिकाएको हुन सक्छ । कारण म सिटिभिटिको ट्रेनर पनि भएको हुनाले व्यूटिसियन तालिम ३ महिनाको कोर्ष हुन्छ । एक सिफ्टमा २० जना सिकाइन्छ । वर्षमा ३ सिफ्ट सिकाउदाँ ६० जनालाई एक वर्षमा सिकाइन्छ । वीरगंजमा नै पार्लर खोलेर बसेका आधा जस्तो व्यूटिसियनहरु प्रायः सबै मेरा शिष्यहरु हुन् । कोही वीरगंज बाहिर पनि छन् । लगभग ९ सय जति व्यूटिसियन पेशामा आबद्ध भएर नै काम गरेका छन् । पार्लर यस्तो पेशा हो । कम लगानीमा होम सर्बिस गरेर पनि आम्दानी गर्न सकिन्छ । आफ्नो लगानी गर्ने स्रोत छैन भने पनि अन्य पार्लरमा पनि काम गरेर आम्दानी गर्न सकिन्छ ।
६) व्यूटिसियन संघको अध्यक्ष हुँदा संगठनका लागि चाही के गर्नु भयो ?
व्यूटिसियन संघको अध्यक्ष भैसकेपछि आफ्नो संघमा आबद्ध महिलाहरुलाई म सिटिभिटिको ट्रेनर पनि भएकोले फष्ट लेभलको क्लास गरेर परिक्षामा पास गरी सेकेण्ड लेभलको पनि क्लास लिएर पास गर्न सहयोग गरे । पार्लरलाई एकरुपता ल्याउन रेटहरु निर्धारण गर्ने काम भएको छ । डेटस्पायर समानहरु कसरी के गर्ने ? पार्लर दर्ता गर्ने प्रक्रिया सिकाइएको छ । नेपाल सरकारबाट पाउने सेवा सुविधा प्राप्त गर्न घरेलु, नगरपालिका र उद्योग वाणिज्य संघमा गएर दर्ता गर्न सिकाइएको छ । संघका बारे सबै साथीहरुलाई आफूले अवगत गराएको छु ।
७) कतिपय पार्लर दर्ता नगरी चलाइरहेको भन्ने छ नि ?
यहाँ झण्डै ३ सय जति पार्लरहरु संचालनमा छन् । जसमा २ सय जति पार्लर दर्ता भइसकेका छन् । केही पार्लर दर्ता गर्न बाँकी छ । केही पार्लरहरु दर्ता गर्ने प्रक्रियामा घरबेटीले चाहिने कागजात नदिएको कारण पनि दायरामा आउन कठिनाई हुने गरेको छ । प्रत्येक वर्षमा घरेलुले दर्ता भएपछि दोहो¥याएर दिने गरेको छ । अनुदानको लोभमा पनि दर्ता गर्ने चलन पनि नभएको चाही होइन ।
८) यो पेशाप्रति धेरैको आकर्षण बढेको छ यसमा आउनेलाई तपाईको सुझाव के छ ?
आर्थिकमन्दीसँगै दिनमा एक जना पनि सेवाग्राही पार्लरमा नआउँदा कतिपय त अतालिएका पनि देखिन्छन् । यो समस्या पार्लर व्यवसाय तर्फ मात्र होइन । अन्य धेरै व्यवसायहरु धरापमा पर्ने अवस्था छ । कोरोना कहरको बेलामा ८ महिना लामो बन्दी झेलेका थियांै । ८ महिना बन्द गरेर बस्ता पनि हामी आत्तिएनांै । तर धैर्य गरेर बस्नु चाही पर्छ । कुनै महिना अफ सिजन पनि हुन्छ । चाडपर्वको सिजन सुरु भएपछि राम्रो आम्दानी हुन्छ । चाडपर्वमा जो कोही राम्रो बन्न चाहन्छन् । सो समयमा सौन्दर्यकर्ममा लागेकाहरुको व्यवसाय अलि चल्छ ।