भन्सार कर्मचारीमाथि आक्रमण गरेर तस्कर समूहले भगाएका गाडी र चालकलाई जिल्ला प्रहरी मोरङले आइतबार राति नियन्त्रणमा लिएको छ । को १ च २२३५ नम्बरको भ्यान र त्यसको चालक विराटनगर १७ का २९ वर्षीय मोहम्मद सदाम मियाँलाई नियन्त्रणमा लिएर कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी मोरङका प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।
उनले गाउँमा लुकिछिपी बसेको अवस्थामा सदामलाई र लुकाएर राखेको अवस्थामा गाडी नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको बताए । उक्त घटनाको अनुसन्धानको क्रममा गाडी र चालकलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेकाले त्यसमा प्रहरी कर्मचारी दोषी देखिए कारवाहीको दायरामा ल्याउने कोइरालाले प्रतिबद्धता जनाए ।
विराटनगरको रानी नाकास्थित इलाका प्रहरी रानी सीमा कार्यालय अगाडि भारतको जोगबनीबाट भन्सार छली गरेर ल्याएको अवैध कपडा गाडीमा लोड गरिरहेको अवस्थामा शुक्रबार राति विराटनगर भन्सार कार्यालयका कर्मचारीले नियन्त्रणमा लिएका थिए । कर्मचारीहरूले बरामद भएको भ्यान, चालक सदाम र त्यसमा लोड गरिएको कपडा नियन्त्रणमा लिएर उक्त प्रहरी कार्यालय अगाडि राखेको अवस्थामा तस्करहरुले आक्रमण गरेर कपडा, गाडी र चालक लिएर गएका थिए ।
भन्सार कार्यालय विराटनगरले सुरक्षाकर्मीको असहयोगले उक्त घटना भएको भन्दै प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई लिखित जानकारी गराएका थिए । त्यसपछि प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी मोरङलाई घटनाको छानबिन गर्न लिखित निर्देशन थिएको छ । उक्त निर्देशनका आधारमा प्रहरीले छानबिन गरिरहेको छ ।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंगानाले प्रहरीले चालक र गाडी बुझाएकाले चालक सदामसँग ब्यान लिएर कारबाही प्रक्रिया अघि बढाएको बताए ।
राजश्व चुहावट समितिको आइतबार बसेको आकस्मिक बैठकले जिल्ला प्रशासन कार्यालय मोरङ, आन्तरिक राजश्व कार्यालय, कर कार्यालय, भन्सार कार्यालय र ब्यापारी प्रतिनिधिसहितको टोलीले भन्सार छली गरेर ल्याएका समान छापामारीबाट नियन्त्रणमा लिने, बील, बिजक हेर्ने उद्देश्यले तत्काल बजार अनुगमन गर्ने निर्णय गरेको छ । विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंगानाले भन्सार विराटनगरको रानीस्थित चाइना मार्केटलगायत क्षेत्रमा भइरहेको चोरी तस्करी नियन्त्रणका लागि संयुक्त गस्ती गर्ने निर्णयसमेत भएको बताए ।