बझाङका बाढी पीडितहरुले आफूहरुको समस्या समाधान गर्ने दल तथा उम्मेदवारलाई मात्र मतदान गर्ने बताएका छन् । अघिल्लो वर्ष असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीका कारण विस्थापित भएका खप्तडछान्ना गाउँपालिकाका झण्डै ७७ परिवार अझै बिचल्लीमा छन् ।
दलहरु भोट माग्न पुगेका बेला उनीहरुले पीडितको समस्या समाधान गर्ने प्रतिबद्धता गराएपछि मात्र भोट दिने बताएका छन् । खप्तडछान्ना – १ खाती गाउँका सुरेन्द्र खातीले भन्नुभयो, एक वर्षसम्म आश्वासनमा बितायौँ, सरकारी क्षेत्रबाट सोचे जति सहयोग भएन । यो चुनावमा भने हाम्रा समस्या समाधान गर्नेलाई कसम खुवाएर मात्रै भोट हाल्ने निर्णयमा पुगेका छौँ ।
गएको हप्ता घरदैलो अभियान गरेको नेकपा ९एमाले० का उम्मेदवारसहितको टोलीलाई बाढी पीडितले घर खेत बगाएको बगर देखाउँदै बाढी पहिरो पीडितहरुले आफ्ना समस्याप्रति संवेदनशील हुने वाचा गरे मात्र भोट दिने बताए । त्यस्तै सत्ता गठबन्धनका उम्मेदवारहरुलाई पनि पीडितहरुले उही कुरा दोहोर्याए । भोट माग्न गएकाहरुले समस्या समाधान गर्ने आश्वासन पनि दिएका छन् । तर पीडितहरुलाई अझै विश्वास छैन । भाषणभन्दा काम गर्नेहरुलाई मात्रै मतदान गर्ने बाढी पीडितहरु बताउँछन् ।बाढी पहिरोका कारण उठिबास भएकामध्ये धेरै आफन्तको गोठ तथा घरमा शरण लिएर बसेका छन् । उब्जनी हुने खेतीयोग्य जमिन बगरमा परिणत भएपछि बाढी पीडितलाई एक छाक टार्न समेत धौ धौ भएको छ । घर खेत बगाएर सुकुम्बासी बनेका खप्तड छान्ना – १ का रिने खातीले भन्नुभयो, पटक पटक विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा धाउँदै आएको छु । सबै ठाउँबाट आश्वासन मात्र पाइयो । अझ चुनावका बेला पनि भोट देउ भनेर घरदैलोमा पुगेका छन् । जसले हाम्रा समस्या सुन्छ र काम गर्छ उसलाई कसम खुवाएर मात्र भोट दिन्छौँ ।
यहाँका बाढी पीडित यसपालिको वर्षायाममा पनि ठूलो बाढी आउँछ कि भनेर रातभर जाग्राम बसे । खप्तड छान्ना गाउँपालिका– १ खातीगाउँका हर्कखातीले भन्नुभयो, ‘घरको आँगनमा खोला छ, राति सामान्य वर्षा भए पनि सुत्न सकिरहेका छैनौँ, कतिखेर घर बगाउने हो भन्ने चिन्ता छ । अलिअलि सिमसिम पानी पर्नासाथ खोला बढेर आइहाल्छ, रातभरि खोला हेरेर जाग्राम बस्नु पर्ने अवस्था छ । बाढी पहिरो पीडितका समस्याप्रति संवेदनशील भएर काम गर्ने नेतालाई हाम्रो सहयोग हुन्छ ।
खप्तड छान्ना गाउँपालिकाको कालुखेती, घाटखोला, पसलबगर, ऐचेली बगर, खातीगाउँ र ऐराडा लगायतका एक दर्जनभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा छन् । गाउँपालिकाको मुख्य आवतजावत गर्ने सडक समेत भत्किएको छ । गाउँपालिकाको मुख्य बाटो मष्टाको पातील हल्ना र घाटखोला नजिकै खडिमेलामा लगातार पहिरो बगिरहेकाले ज्यान जोखिममा राखेर हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा बताउँछन् ।
खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष उत्तम बहादुर रोकायाले भन्नुभयो, गाउँपालिकाको सीमित स्रोत र साधनले नभ्याउने भएकोले पटक पटक प्रदेश सरकार र सङ्घीय सरकारसँग पहल गरिरहेको छौँ । गृह मन्त्रालय लगायतका सरोकारवाला निकायमा डेलिगेसन समेत गएर ध्यानाकर्षण गराएका छौँ ।’ उहाँले घर पूर्ण रुपमा क्षति भएका परिवारका लागि सरकारले घर बनाउन प्रतिपरिवार ५ लाख रुपयाँ दिइरहेको बताउनुभयो ।
गएको वर्ष धान भित्र्याएर गहुँ छर्ने तयारीमा रहेका यहाँका किसानका सयौँ हेक्टर उर्बर भूमि बाढी पहिरोले बगाएको थियो । सङ्कटग्रस्त क्षेत्र घोषणा भएको एक वर्ष बितिसक्दा पनि बाढी पहिरो प्रभावित नागरिक तथा क्षति भएका सरकारी तथा गैरसरकारी संरचनाको निर्माणमा काम हुन सकेको छैन ।