राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको विनाशकारी बाढीलाई केवल प्राकृतिक विपत्तिका रूपमा लिन नमिल्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै लामिछानेले भोटेकोशी बाढीमा भएको मानवीय क्षति जलवायु सङ्कटको असमान भारका कारण भएको क्षति भएको दाबी गरे।
उनले भने, ‘भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूलाई केवल प्राकृतिक विपत्तिमा मृत्यु भएका भन्न सकिन्न। यो जलवायु सङ्कटको असमान भारका कारण उनीहरूले ज्यान गुमाउनु परेको हो।’
नेपालजस्ता मुलुकले जलवायु परिवर्तनमा तुलनात्मक रूपमा कम योगदान गरे पनि त्यसको गम्भीर असर भोग्नुपरेको उनको भनाइ थियो। जलवायु परिवर्तनका कारण हुने क्षतिको जिम्मेवारी र क्षतिपूर्तिको विषयलाई नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा उठाउनुपर्ने उनले बताए।
‘हामी अब जलवायु न्याय माग्छौँ । यसका लागि हामी विश्वको ढोका–ढोका ढकढक्याउने छौँ,’ लामिछानेले भने।
उनले जलवायु परिवर्तनको मुद्दामा नेपालको आवाज अझ बलियो बनाउनुपर्ने र जलवायुजन्य विपत्तिबाट भएको क्षतिको क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार बनाउन पहल गर्नुपर्नेमा जोड दिए।
विपद्को समयमा प्रभावित क्षेत्रका बासिन्दाले देखाएको एकता र साहसको समेत उनले प्रशंसा गरे। ‘यति ठूलो सङ्कट र अपूरणीय क्षति व्यहोर्दा पनि उहाँहरू एक–अर्काको हात समातेर उभिइरहनुभएको छ, यो साहस र एकता नै हाम्रो शक्ति हो,’ उनले भने।
लामिछानेले भोटेकोशीसहित देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताए। उनले यस विषयलाई राष्ट्रियसँगै अन्तर्राष्ट्रिय तहमा समेत प्राथमिकताका साथ उठाउन सरकारलाई आग्रह गरे।