राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा पछिल्लो समय विकसित घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव, शान्ति र आपसी सहिष्णुता कायम राख्न सबै पक्षलाई अपिल गरेको छ।
मंगलबार सम्पन्न बैठकपछि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले ७ बुँदे संयुक्त विज्ञप्ति जारी गर्दै देशमा सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न संवाद, सहमति र संयमताको बाटो अपनाउनुपर्नेमा जोड दिएका हुन्।
संयुक्त विज्ञप्तिमा हालैका घटनाक्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। साथै, घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
तल्लो तहसम्म सर्वदलीय संयन्त्र गठन गर्ने निर्णय
बैठकले स्थानीय तहमा देखिएका असन्तुष्टि र तनावपूर्ण अवस्थालाई शान्तिपूर्ण रूपमा समाधान गर्न प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गर्न सम्बन्धित दलका स्थानीय कमिटीहरूलाई निर्देशन दिएको छ। स्थानीय प्रशासन, धार्मिक अगुवा, नागरिक समाज र सरोकारवालासँग सहकार्य गर्दै सामाजिक सद्भाव कायम राख्नुपर्नेमा बैठकले जोड दिएको छ।
अफवाह फैलाउन नदिन आग्रह
संयुक्त विज्ञप्तिमा संवेदनशील परिस्थितिको फाइदा उठाउँदै सामाजिक सञ्जालमार्फत भ्रामक सूचना, अफवाह तथा घृणास्पद अभिव्यक्ति नफैलाउन आम नागरिकसँग आग्रह गरिएको छ। सञ्चारमाध्यमहरूलाई पनि तथ्यमा आधारित, जिम्मेवार र संयमित समाचार सम्प्रेषण गर्न आह्वान गरिएको छ।
निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
राज्यको प्रमुख दायित्व नागरिकको जिउधनको सुरक्षा गर्नु भएको उल्लेख गर्दै बैठकले सुनसरीलगायतका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ। साथै, पीडित परिवारलाई आवश्यक राहत, क्षतिपूर्ति र न्याय सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ।
संयुक्त विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत तथा जसपा नेपालका नेता प्रकाश अधिकारीको हस्ताक्षर रहेको उल्लेख गरिएको छ।

