मधेश प्रदेशमा पछिल्लो पाँच वर्षको अवधिमा २१ हजारभन्दा बढी सडक दुर्घटना हुँदा २ हजार ७४८ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ।
मधेश प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्मको तथ्यांकअनुसार प्रदेशभर कुल २१ हजार ९८९ सडक दुर्घटना भएका छन्। ती दुर्घटनामा ४२ हजार ६३७ सवारी साधन संलग्न रहेका छन्।
तथ्यांकअनुसार दुर्घटनामा परी २ हजार ७४८ जनाले ज्यान गुमाएका छन् भने १० हजार ८६६ जना गम्भीर घाइते भएका छन्। यस्तै ३६ हजार ४४२ जना सामान्य घाइते भएका छन्।
जिल्लागत विवरणअनुसार सबैभन्दा बढी दुर्घटना धनुषा जिल्लामा भएका छन्। पाँच वर्षको अवधिमा धनुषामा ४ हजार ८६८ दुर्घटना हुँदा ४२८ जनाको मृत्यु भएको छ भने २ हजार ९४३ जना गम्भीर घाइते भएका छन्।
दुर्घटनाको संख्याका आधारमा बारा दोस्रो स्थानमा रहेको छ। बारामा ४ हजार ४६८ दुर्घटना हुँदा ४१६ जनाको मृत्यु भएको छ भने ७८१ जना गम्भीर घाइते भएका छन्।
त्यस्तै सर्लाहीमा ४ हजार ७२ दुर्घटना हुँदा ३३६ जनाको मृत्यु र २ हजार १३२ जना गम्भीर घाइते भएका छन्। सिरहामा ३ हजार ५२६ दुर्घटना हुँदा ३७९ जनाको मृत्यु र १ हजार ७७८ जना गम्भीर घाइते भएका छन्।
सप्तरीमा ३ हजार ७२० दुर्घटना हुँदा ३८३ जनाको मृत्यु भएको छ भने १ हजार २०८ जना गम्भीर घाइते भएका छन्। रौतहटमा ३ हजार ४०३ दुर्घटना हुँदा ३०० जनाको मृत्यु र ७६९ जना गम्भीर घाइते भएका छन्।
यस्तै महोत्तरीमा ३ हजार ९१ दुर्घटना हुँदा २९८ जनाको मृत्यु भएको छ भने ८९० जना गम्भीर घाइते भएका छन्।
प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा कम दुर्घटना पर्सामा भएको देखिएको छ। पर्सामा २ हजार ३५ दुर्घटना हुँदा २०८ जनाको मृत्यु भएको छ भने ३६५ जना गम्भीर घाइते भएका छन्।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी ओम अधिकारीले प्रदेशमा जनसंख्या, सवारीसाधन र सडक सञ्जालको विस्तारका कारण दुर्घटना नियन्त्रण चुनौतीपूर्ण बनेको बताए।
उनले ट्राफिक व्यवस्थापनमा सरोकारवाला सबै निकायबीच समन्वय, जनचेतनामूलक कार्यक्रम तथा प्रभावकारी नीति कार्यान्वयनमार्फत दुर्घटना न्यूनीकरण गर्न सकिने बताए। ट्राफिक प्रहरीको सुझाव नीति निर्माण तहसम्म पर्याप्त रूपमा नपुगेको तथा बजेट अभावले पनि समस्या सिर्जना गरेको उल्लेख गर्दै उनले यसतर्फ राज्यले ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।