एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि नेपालले जितेको छ। सिंगापुरमा सोमबार सम्पन्न फाइनल खेलमा हङकङलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअनुसार पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।
हङकङले दिएको १८९ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको नेपाल ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रनको बलियो अवस्थामा पुगेका बेला वर्षा सुरु भएको थियो। वर्षाका कारण खेल पुनः सञ्चालन हुन नसकेपछि डीएलएस पद्धति लागू गरिएको थियो।
डीएलएसअनुसार उक्त समयमा नेपालको पार स्कोर ९५ रन रहेको थियो। नेपाल १९ रनले अगाडि रहेकाले विजेता घोषित भएको हो।
नेपालको जितमा कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै ४० बलमा ६५ रन बनाए। उनले ६ चौका र आक्रामक प्रहारसहित टोलीलाई बलियो सुरुआत दिलाएका थिए। कप्तान रोहित पौडेल ३५ रनमा अविजित रहे भने दीपेन्द्रसिंह ऐरी ९ रनमा नटआउट थिए।
हङकङका लागि एहसान खान र आयुष शुक्लाले समान एक–एक विकेट लिए।
यद्यपि नेपाल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी रन चेज गर्ने अवसरबाट भने वञ्चित भयो। यदि नेपालले १८९ रनको लक्ष्य पूरा गर्दै जित हासिल गरेको भए यो टोलीको इतिहासकै सबैभन्दा सफल रन चेज बन्ने थियो। यसअघि नेपालले सन् २०२५ मा कुवेतविरुद्ध १८६ रनको लक्ष्य पछ्याउँदै कीर्तिमानी जित निकालेको थियो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रनको प्रतिस्पर्धात्मक योगफल खडा गरेको थियो। हङकङका लागि अंशुमन राठले विस्फोटक ब्याटिङ गर्दै ४५ बलमा ८० रन बनाए। उनले ६ चौका र ६ छक्का प्रहार गरेका थिए। शाहिद वासिफले २८ बलमा ५५ रनको महत्वपूर्ण योगदान दिए भने शिव माथुरले २६ रन जोडे।
नेपालका बलरमध्ये शेर मल्ल सर्वाधिक सफल रहे। उनले ४ ओभरमा ३२ रन खर्चेर ४ विकेट हात पारे। करण केसीले २ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट आफ्नो नाममा लेखाए।
एक समय १८ ओभरमा १७९ रनमा ५ विकेटको अवस्थामा पुगेको हङकङले अन्तिम दुई ओभरमा अपेक्षित रन जोड्न नसक्दा १८८ रनमै सीमित भएको थियो।
फाइनलअघि नेपाल र हङकङ दुवै टोली अपराजित रहँदै उपाधि भिडन्तसम्म पुगेका थिए। तर निर्णायक खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफ्नो नाममा पार्न सफल भयो।
यो जितसँगै नेपालले एसियन गेम्स क्रिकेट छनोटमा आफ्नो प्रभुत्व स्थापित गर्दै अर्को महत्वपूर्ण अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेको छ।