नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुईदिने वीरगञ्ज भ्रमणका क्रममा सीमापार व्यापार सहजीकरण, द्विपक्षीय सहकार्य तथा नेपालको विकासमा भारतको निरन्तर सहयोगबारे विभिन्न पक्षसँग छलफल गरेका छन्।
भ्रमणका क्रममा शुक्रबार राजदूत श्रीवास्तवले वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) को निरीक्षण गर्दै वीरगञ्ज भन्सार कार्यालयका प्रमुख तथा टर्मिनल प्रमुखलगायतका अधिकारीसँग भेटवार्ता गरेका थिए।
त्यसपछि उनले भारततर्फको रक्सौलस्थित आईसीपीको पनि भ्रमण गरी सीमापार व्यापार सहजीकरण र आपसी समन्वयका विषयमा छलफल गरेका थिए। सो क्रममा ल्यान्ड पोर्ट्स अथोरिटी अफ इन्डिया (एलपीएआई), सशस्त्र सीमा बल (एसएसबी), भन्सार, अध्यागमन, प्लान्ट क्वारेन्टाइन तथा भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) का वरिष्ठ अधिकारीसँग भेटवार्ता गरेका थिए।
राजदूत श्रीवास्तवले रक्सौलस्थित भारतीय दूतावासको बंगला परिसरको समेत भ्रमण गरी वृक्षरोपण गरेका थिए।
भ्रमणकै क्रममा उनले भारत–नेपाल सहयोग मञ्च र नेपाल–भारत मैत्री संघका प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका थिए। त्यसपछि वीरगञ्जका उद्योगी व्यवसायी, वीरगञ्ज उद्योग वाणिज्य संघ, नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनआईसीसीआई) तथा नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) का पदाधिकारी र सदस्यसँग अन्तरक्रिया गरेका थिए।
शनिबार बिहान राजदूत श्रीवास्तवले स्थानीय पत्रकारसँग समेत अन्तरक्रिया गरेका थिए।
भेटघाटका क्रममा राजदूत श्रीवास्तवले भारत र नेपालबीचको गहिरो तथा दिगो मैत्री सम्बन्धमा जोड दिँदै नेपालको विकासप्रति भारतको निरन्तर प्रतिबद्धता दोहोर्याएका थिए।
उनले नेपालमा आएको बाढीपछि भारतले उपलब्ध गराउँदै आएको राहत सहयोगबारे पनि जानकारी दिएका थिए। उनका अनुसार २६ अगस्ट २०२६ देखि भारतले १३० टनभन्दा बढी राहत सामग्री नेपाल पठाइसकेको छ। राहत सामग्रीमा आश्रय सामग्री, कम्बल, स्वच्छता किट, सौर्य बत्ती तथा औषधिलगायत रहेका छन्।
बाढी तथा विपद् उद्धारका लागि भारतले भारतीय वायुसेनाका आठवटा उडानमार्फत राहत सामग्री पठाएको र चिलिमे तथा लाङटाङ क्षेत्रमा उद्धार कार्यका लागि विशेष सुरुङ उद्धार टोलीसहित ५४ जना विशेषज्ञ कर्मचारी परिचालन गरेको उनले जानकारी दिए।
त्यसैगरी, बेपत्ता व्यक्तिको पहिचानका लागि डीएनए किट तथा फोरेन्सिक सहयोग उपलब्ध गराइएको र क्षतिग्रस्त सडक तथा सम्पर्क सञ्जाल पुनःस्थापित गर्न बेली ब्रिज निर्माणका लागि आवश्यक उपकरण तथा सामग्रीसमेत आपूर्ति गरिएको उनले बताए।
उनका अनुसार २३० फिट लामो पुल निर्माणका लागि १६ ट्रक सामग्री तथा थप सातवटा पुल निर्माणका लागि आवश्यक सामग्री पठाइएको छ।