नेकपा एमाले संसदीय दलका नेता रामबहादुर बादलले नेपाली सेनाको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै संसद्मा विवाद उत्पन्न गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा दलको तर्फबाट बोल्दै उनले देश संकटमा पर्दा र राष्ट्र प्रमुखको सुरक्षासँग जोडिएको संवेदनशील घटनामा सेना किन निष्क्रिय बनेको भन्दै प्रश्न गरे।
“देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक भएर पनि रहस्यमय ढंगले किन मुकदर्शक बन्यो ?” बादलले प्रश्न गरे।
उनले सीमासम्बन्धी विषय उठाउँदै लिपुलेक क्षेत्रमा भएको अतिक्रमणप्रति सेना मौन बसेको आरोपसमेत लगाए।
“लिपुलेकमा अतिक्रमण हुँदा बेखबर त्यही सेना सुकुम्बासी बस्तीहरूमा किन परेड खेल्दैछ ?” उनले भने।
एमाले नेता बादलको उक्त अभिव्यक्तिपछि संसद्मा विरोधसमेत भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले उक्त टिप्पणी संसदीय मर्यादाविपरीत रहेको भन्दै रेकर्डबाट हटाउन माग गरेका छन्।
राप्रपाकी सांसद ओलीले नेपाली सेनामाथिको टिप्पणी राष्ट्रिय मनोबलमाथिको प्रहार भएको बताइन्।
“नेपाली सेनाबारे गरिएको टिप्पणी एउटा संस्थामाथिको आलोचना मात्रै होइन, राष्ट्रिय मनोबलमाथिको प्रहार हो,” उनले भनिन्, “यस्तो अभिव्यक्ति निरन्तर आइरहेकोमा म खेद प्रकट गर्छु।”