वीरगञ्जमा त्रिभुवनराजपथ मुख्य सडक विस्तारअख्न्तर्गतको अतिक्रमण भत्काउने काम आज सकिने भएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार हिजो आइतबार करीब सम्पूर्ण अतिक्रमण भत्काइसकिएको र केही घरमात्र बाँकी रहेका छन् । भत्काउन बाँकी रहेका ती घर आज भत्काइने दाहालले बताए । सो राजपथअन्तर्गत वीरगञ्ज क्षेत्रमा पर्ने त्रिभुवन राजपथअन्तर्गत मितेरी पुलदेखि गण्डकचोकसम्मको सडक विस्तार गर्दा करिब १,२०० घर तथा संरचना भत्काइएको सडक विभागले जनाएको छ ।
अहिले ती घर र संरचना उपयोग गर्न नमिल्ने गरी भत्काएर छोडिएको छ । सडक विभागले सो खण्डमा ६ लेनको सडक बनाउने योजना बनाएको छ । योजनाको कार्यान्वयनसँगै सडकको मध्यभागबाट दायाँबायाँ २५/२५ मीटरको सम्पूर्ण संरचना हटाएर काम अघि बढाइने सडक विभागको डिभिजन कार्यालय हेटौंडाका डिभिजनल इन्जिनियर गुरुप्रसाद अधिकारीले बताए ।
अधिकारीका अनुसार ६ लेन सडक निर्माणको ठेक्का लगाउँदा सडकको दायाँबायाँ २५/२५ मिटर क्षेत्रभित्र रहेका सबै संरचना हटाइने लक्ष्य राखिएको छ। हटाइएको क्षेत्रमा ६ लेनको आधुनिक सडक निर्माण गर्ने योजना छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का प्रक्रिया अघि बढाउने तयारी गरेको छ । महानगर प्रमुख राजेशमान सिंहले मितेरी पुलदेखि गण्डकसम्म ६ लेन सडक बनाइने बताएका छन् ।
यसअघि स्थानीयले मुआब्जा माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए । तर, सर्वोच्च अदालतले २०८१ फागुनमा उक्त रिट खारेज गरेपछि सडक विस्तारको बाटो खुलेको हो । अदालतले जग्गाधनीहरूको क्षतिपूर्ति दाबी अस्वीकार गरेको थियो ।
२०७६ सालमै सडक विभागले २५/२५ मिटर क्षेत्रभित्रका संरचना हटाउन सूचना जारी गरेको थियो । तर, कानूनी प्रक्रियाका कारण काम अघि बढ्न सकेको थिएन । अहिले सरकारी दबाब र निर्णयसँगै अतिक्रमण हटाउने कामले गति लिएको हो।