मुख्य सडक फराकिलो बनाउने अभियान तीव्र बनेसँगै वीरगन्जवासीले अब तीन दिनसम्म विद्युत् अवरोधको सामना गर्नुपर्ने भएको छ। सडक विस्तारका क्रममा विद्युतीय संरचना सार्नुपर्ने भएपछि नेपाल विद्युत् प्राधिकरण, वीरगन्ज वितरण केन्द्रले आगामी तीन दिन विद्युत् सेवा प्रभावित हुने जनाएको हो।
प्राधिकरणका अनुसार २०८३ साल वैशाख ६ गतेदेखि ८ गतेसम्म विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अनियमित हुन सक्नेछ। त्रिभुवन राजपथ अन्तर्गत मितेरी पुलदेखि गण्डक नहर चोकसम्म २५/२५ मिटर सडक विस्तार भइरहेकाले पोल तथा तार स्थानान्तरणको काम बिहानैदेखि सञ्चालन गरिनेछ।
यस अवधिमा वीरगन्ज सबस्टेसन अन्तर्गत वीरगन्ज १, २, ५, ६, राधेमाई, जगन्नाथपुर र प्रसौनी क्षेत्र प्रभावित हुनेछन् भने छपकैया सबस्टेसन अन्तर्गत हस्पिटल, बिर्तामाई, छपकैया र बलिरामपुर फिडरका सम्पूर्ण क्षेत्रमा पनि विद्युत् अवरुद्ध हुनेछ।
वितरण केन्द्र प्रमुख ई. विजय महतोका अनुसार सडक विभागले डोजर प्रयोग गरी संरचना हटाइरहेकाले विद्युत् लाइनमा आकस्मिक मर्मतको आवश्यकता पर्न सक्छ। उनले मर्मत कार्य निर्धारित समयभन्दा अगावै सकिएमा विद्युत् सेवा चाँडै सुचारु गरिने जानकारी दिए।
प्राधिकरणले सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक सहयोगका लागि आग्रह गरेको छ।