लामो समयदेखि तलब–भत्ता नपाएको र सेवा–सुविधा सुधारका माग बेवास्ता गरिएको भन्दै हरि खेतान बहुमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारी आजदेखि क्याम्पस परिसरमै सामूहिक धर्नामा उत्रिएका छन्।
क्याम्पस प्रशासन र व्यवस्थापन समितिले पटक–पटकको आग्रहलाई नजरअन्दाज गरेको आरोप लगाउँदै उनीहरूले आन्दोलन सुरु गरेका हुन्।
आन्दोलनरत पक्षका अनुसार उनीहरूले लामो समयदेखि रोकिएको तलब–भत्ताको भुक्तानी, सेवा–सुविधामा वृद्धि तथा क्याम्पसभित्र मर्यादित र उपयुक्त कार्य वातावरणको सुनिश्चितता माग गर्दै आएका छन्। तर, शान्तिपूर्ण रूपमा पटक–पटक संवादको प्रयास गर्दा पनि क्याम्पस प्रमुख र व्यवस्थापन समितिले कुनै ठोस पहल नगरेको उनीहरूको भनाइ छ।
धर्ना कार्यक्रममा सहभागी प्राध्यापक र कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हाम्रो उद्देश्य क्याम्पस प्रशासनलाई जिम्मेवार बनाउँदै शैक्षिक वातावरण सुदृढ गर्नु हो। यदि हाम्रा मागहरू यथाशीघ्र सम्बोधन नगरिए आन्दोलनलाई थप सशक्त र चरणबद्ध रूपमा अगाडि बढाउन बाध्य हुनेछौँ।”
उक्त आन्दोलन कर्मचारी, प्राध्यापक तथा विद्यार्थी युनियनको संयुक्त आयोजनामा भइरहेको छ। उनीहरूले अभिभावक, विद्यार्थी र सम्बन्धित सरोकारवाला निकायहरूलाई पनि समर्थनका लागि अपील गरेका छन्।
क्याम्पसमा जारी आन्दोलनका कारण पठनपाठन तथा प्रशासनिक कार्य प्रभावित हुन सक्ने देखिएको छ। यद्यपि, यस विषयमा हालसम्म क्याम्पस प्रशासनले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।