सरकारले इजरायलसहित चार देशमा पुनः श्रम स्वीकृति खुला गरेको छ। पश्चिम एसियामा देखिएको सुरक्षा चुनौतीका कारण अस्थायी रूपमा स्थगित गरिएको प्रक्रिया पुनः सञ्चालनमा ल्याइएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ३१ चैत २०८२ मा मन्त्रीस्तरीय निर्णय गर्दै इजरायल, कुवेत, बहराइन र लेबनानका लागि पुनः श्रम स्वीकृति खुला गरेको हो।
मन्त्रालयका अनुसार इजरायल–अमेरिका तथा इरानबीचको तनावका कारण यसअघि ती देशमा श्रम स्वीकृति स्थगन गरिएको थियो। पछिल्लो समय परराष्ट्र मन्त्रालयअन्तर्गतको ‘इमर्जेन्सी रेस्पोन्स टिम (ईआरटी)’ को सिफारिसका आधारमा अवस्था मूल्यांकन गरी निर्णय लिइएको हो।
यसअघि १७ फागुन २०८२ मा साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन, टर्की, इजरायल, कुवेत, बहराइन, लेबनान र इराकमा श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति स्थगन गरिएको थियो।
तर ३ चैत २०८२ मा साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि पुनः श्रम स्वीकृति खुला गरिएको थियो। बाँकी देशका लागि पछिल्लो निर्णयमार्फत प्रक्रिया खुला गरिएको हो।
इराकका हकमा भने ११ पुस २०८२ को निर्णयअनुसार नै श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सम्बन्धित देशको सुरक्षा अवस्था सामान्य नहुन्जेल नियमित श्रम स्वीकृतिका सम्बन्धमा भने अलग निर्णय गरिने स्पष्ट पारेको छ।