आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार गणक तथा सुपरीवेक्षकहरू सम्बन्धित क्षेत्रमा पुगिसकेका छन्।
कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न गरिनेछ। यस गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएको छ।
अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक तथा आर्थिक क्षेत्रसँग सम्बन्धित तथ्याङ्क सङ्कलन गरिने भएकाले यस कार्यमा सहयोग गर्न सबैमा आग्रह गरेको छ।
गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थाहरूको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन तथा सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा सूचकसम्बन्धी आधारभूत विवरण सङ्कलन गरिनेछ।
यस क्रममा देशभर दर्ता भएका तथा नभएका साना–ठूला व्यापार प्रतिष्ठान, रोजगारी सिर्जना गर्ने संस्था, स्वरोजगार प्रतिष्ठान, उद्योग, कलकारखाना, गैरसरकारी संस्था, सरकारी निकाय, विद्यालय तथा अस्पतालहरूको विवरणसमेत सङ्कलन गरिनेछ।
आर्थिक गणनाको तयारीअन्तर्गत पूर्वचरणका कार्यहरू गत फागुन मसान्तमै सम्पन्न भइसकेका छन्। चैतको सुरुआतमा ७७ जिल्ला तथा थप सात गरी कुल ८४ कार्यालय स्थापना गरिएका छन्, जुन आगामी असार मसान्तसम्म सञ्चालनमा रहनेछन्।
यसअघि विसं २०७५ मा गरिएको राष्ट्रिय आर्थिक गणनाअनुसार देशभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान तथा व्यवसाय सञ्चालनमा रहेका थिए।