चन्द्रमातर्फको ऐतिहासिक यात्रामा रहेका आर्टेमिस अभियानका अन्तरिक्ष यात्रीहरू चाँडै नै पूर्ण रूपमा सम्पर्कविहीन हुने क्षणको सामना गर्दैछन्। पृथ्वीबाट क्रमशः टाढिँदै जाँदा उनीहरूले अहिलेसम्म अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा रहेको नासाको मिसन कन्ट्रोलसँग निरन्तर सम्पर्क कायम राखेका छन्, जसले उनीहरूलाई घरसँगको भावनात्मक जोड प्रदान गरिरहेको छ।
तर सोमबार बेलुका करिब २३:४७ बजे अन्तरिक्षयान चन्द्रमाको पछाडि पुग्नेबित्तिकै पृथ्वी र अन्तरिक्षयानबीचको रेडियो तथा लेजर सम्पर्क पूर्ण रूपमा अवरुद्ध हुनेछ। चन्द्रमाले नै संकेत रोक्ने भएकाले करिब ४० मिनेटसम्म चारै जना अन्तरिक्ष यात्रीहरू पूर्ण रूपमा एक्लिनेछन्।
यस अवधिलाई अन्तरिक्ष यात्रीहरूले गहिरो एकान्त र आत्मचिन्तनको क्षणका रूपमा लिने अपेक्षा गरिएको छ। आर्टेमिस अभियानका पाइलट भिक्टर ग्लोभरले यस समयलाई विश्वभरका मानिसहरूलाई एकताबद्ध हुने अवसरका रूपमा लिन आग्रह गरेका छन्। उनले भनेका छन्, “जब हामी चन्द्रमाको पछाडि हुन्छौं र कसैसँग सम्पर्क हुँदैन, त्यस समयलाई प्रार्थना, आशा र सकारात्मक ऊर्जा पठाउने अवसरका रूपमा लिनुहोस्।”
यो अनुभव नयाँ भने होइन। करिब ५० वर्षअघि अपोलो अभियानका अन्तरिक्ष यात्रीहरूले पनि यस्तै अवस्थाको सामना गरेका थिए। सन् १९६९ मा अपोलो ११ अभियानका क्रममा नील आर्मस्ट्रङ र बज एल्ड्रिन चन्द्रमामा अवतरण गरिरहँदा माइकल कोलिन्स भने कमाण्ड मोड्युलमा एक्लै चन्द्रमाको कक्षामा परिक्रमा गरिरहेका थिए। चन्द्रमाको पछाडि पुग्दा उनले पृथ्वी र सहकर्मीहरूसँग ४८ मिनेटसम्म सम्पर्क गुमाएका थिए।
कोलिन्सले आफ्नो संस्मरण ‘क्यारिङ द फायर’ मा उक्त अनुभवलाई “पूर्ण रूपमा एक्लिएको” र “सम्पूर्ण जीवनबाट टाढिएको” अवस्थाका रूपमा वर्णन गरेका छन्। तर उनले डर वा एक्लोपन भने महसुस नगरेको बताएका छन्। बरु रेडियो मौनताले शान्ति र सुकून दिएको उनको भनाइ थियो।
पृथ्वीमा भने यस्तो ‘ब्ल्याकआउट’ समय निकै तनावपूर्ण हुने गर्छ। बेलायतको कर्नवालस्थित गुनहिल्ली अर्थ स्टेशनमा रहेको विशाल एन्टेनाले अन्तरिक्षयान ‘ओरियन’ बाट आउने संकेतहरू संकलन गर्दै यसको अवस्थिति निरन्तर निगरानी गरिरहेको छ। गुनहिल्लीका प्रमुख प्रविधि अधिकृत म्याट कोस्बीका अनुसार, “मानवसहितको अन्तरिक्षयान ट्र्याक गर्ने यो हाम्रो पहिलो अनुभव हो। चन्द्रमाको पछाडि जाँदा केही चिन्ता लाग्नेछ, तर पुनः संकेत देख्दा हामी अत्यन्त उत्साहित हुनेछौं।”
भविष्यमा भने यस्तो सम्पर्कविच्छेद हटाउने प्रयास भइरहेको छ। नासासहित अन्य अन्तरिक्ष एजेन्सीहरूले चन्द्रमामा स्थायी आधार निर्माण गर्ने योजना अघि बढाइरहेका छन्, जसका लागि २४ सै घण्टा सञ्चार सुविधा अपरिहार्य मानिएको छ।