सुरक्षा र न्याय कार्यक्रमको सामाजिक परीक्षण कार्यक्रम भएको छ। सर्लाहीको बरहथवा नगरपालिका, बाराको सिम्रौनगढ र जनकपुरधाम उपमहानगरपालिकामा कार्यक्रम आयोजना भएको हो ।
बेलायत सरकारको आर्थिक सहयोग, पिपुल ईन निडको नेतृत्व, दिव्य विकास श्रोत केन्द्र र हामी दाजुभाइको संयुक्त प्रयासमा सञ्चालित कार्यक्रमको चैत १५, १६ र १७ गते भएको सामाजिक परीक्षण कार्यक्रममा मधेश प्रदेश समाज कल्याण मन्त्रालय, शिक्षा तथा सस्कृती मन्त्रालयका प्रतिनिधि, जिसस सभापति, सम्बन्धित पालिकका प्रमुख, उप–प्रमुख एवं न्यायिक समिति संयोजक, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुख, विद्यालयका प्रधानाध्यापक, संचारकर्मी, स्थानीय सामुदायिक संस्था एंव सरोकारवाला निकायको महत्वपुर्ण सहभागिता रहेको थियो ।
कार्यक्रमअन्तर्गत सम्पन्न भएका गतिविधिहरुको लेखाजोखा तथा बजेट र खर्चको सार्वजनिकिकरण, सरोकारवाला निकायबीच समन्वय सहकार्य विस्तार र सेवा प्रदायक निकायलाई जवाफदेही एवं जिम्मेवार वनाउनका साथै परियोजना अन्तर्गत सम्पन्न भएका गतिविधि तथा अगामी दिनमा सञ्चालन गर्दा सरोकारवाला निकायहरुले दिएको मार्गदर्शन तथा सुझाव संकलन गर्ने उदेश्यका साथ सामाजिक परिक्षण कार्यक्रम संचालन भएको थियो ।

कार्यक्रमका क्रममा परियोजना व्यवस्थापक गणेश बहादुर ठकुरीले सामाजिक परीक्षणको मूल उद्देश्यबारे स्पष्ट पार्दै सरोकारवालाबीच समन्वय र सहकार्य विस्तार भएको, लैङ्खिक हिंसा रोकथाम एंव प्रतिकार्यको लागि प्रदेश तह , स्थानीय तहमा समयन्त्र स्थापति भएको र सेवा प्रदायक निकायलाई थप जिम्मेवार बनाउनुको साथै भविष्यमा अझ प्रभावकारी रुपमा लैङ्खिक हिंसा रोकथामको लागी सबै सरोकारवाला निकाय लाग्नु पर्ने बताएका थिए।
प्रस्तुतीकरणका क्रममा सम्बन्धित निकायहरूबीच सहकार्यलाई अझ प्रभावकारी बनाउने, सेवा प्रदायक संस्थाहरूलाई नागरिकप्रति उत्तरदायी बनाउने तथा कार्यक्रम कार्यान्वयनमा गुणस्तरीय सुधार ल्याउने विषयमा पनि विशेष जोड दिइएको थियो ।
आगामी दिनमा कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न सरोकारवालाहरूबाट सुझाव संकलन गरिएको थियो ।
कार्यक्रममा पिपुल इन निड मधेश प्रदेशका परियोजना व्यवस्थापक सुनिलकुमार साहले सुरक्षा र न्याय कार्यक्रम अन्तर्गत स्थानिय निकाय संग भएको सहकार्यलाई सराहनीय ठहर गर्दै जनप्रतिनिधि तथा कर्मचारीप्रति धन्यवाद व्यक्त गरे ।
उनले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यमा पालिकाले खेलेको भूमिकाको प्रशंसा गर्दै मधेश क्षेत्रमा विद्यमान सामाजिक हानिकारक अभ्यासविरुद्ध सामूहिक पहल आवश्यक रहेकोमा जोड दिए । सिम्रौनगढमा संचालन भएको कार्यक्रममा नगरप्रमुख किशोरी साह कलवारले कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पारेको र पालिकाले छुट्याएको बजेट कार्यान्वयनको लागी दिव्य विकास स्रोत केन्द्रलाई सहयोगको लागी आग्रह गरे। बरहथवा नगरपालिका, सर्लाहीमा संचालन भएको कार्यक्रममा बरहथवा नगरपालिकाका नगर उपप्रमुख रामबाबु साहले सुरक्षा र न्याय कार्यक्रमको माध्यमबाट हानिकारक मूल्यमान्यता रुपान्तरण र लैङ्खिक हिंसा रोकथाम र प्रतिकार्यको लागि महत्वपूर्ण योगदान भएको र यसलाई निरन्तरताको लागि पालिकाले आगामी दिनमा नेतृत्व लिने बताए ।

जनकपुरधाममा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले सामाजिक परीक्षणले सरकारी तथा गैरसरकारी कार्यक्रमहरूको पारदर्शिता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो । उनले सुरक्षा र न्याय कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै यसका गतिविधिहरूलाई आगामी दिनमा स्थानीय तथा प्रदेश सरकारले अपनत्व ग्रहण गरी निरन्तरता दिनुपर्ने सुझाव दिनुभएको थियो । त्यसैगरी, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले दिव्य विकास स्रोत केन्द्रद्वारा सञ्चालन गरिएको सुरक्षा र न्याय कार्यक्रम प्रभावकारी र विश्वसनीय रहेको बताए ।
कार्यक्रममा विभिन्न मन्त्रालयका प्रतिनिधि, वडाअध्यक्षहरू, जनप्रतिनिधि तथा स्थानीय सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सामाजिक परीक्षणले सुशासन प्रवद्र्धन तथा नागरिक विश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने धारणा राखेका थिए ।
दिव्य विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक रामाकान्त प्रसाद कुर्मी र उपाध्यक्ष सलमा खातुनको अध्यक्षतामा तीन जिल्लामा सम्पन्न कार्यक्रममा सामाजिक परीक्षणलाई संस्थागत अभ्यासका रूपमा अगाडि बढाइएकोमा सरोकारवालाहरूले प्रशंसा गरे । कार्यक्रमको सहजीकरण संचारकर्मी लक्ष्मी खरेलले गरेकी थिइन् ।